काठमाडौँ, उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज तुल्याउन र दुर्घटना न्यूनीकरण गर्न सडक प्रयोगकर्ता, पैदलयात्री, चालक/सहचालक र कलेजका विद्यार्थीलाई लक्ष्य गरी तीनमहिने ट्राफिक उज्यालो अभियान आजदेखि शुरु गरिएको छ ।
ट्राफिक सचेतना अवधारणालाई नागरिकसम्म पु¥याउने, सडक अनुशासनको विषयलाई संस्कारका रुपमा विकास गर्ने, सडक प्रयोगकर्तासँगको सम्बन्ध, सहयोग र सहकार्य बढाउने, सडक दुर्घटना न्यूनीकरण गर्ने तथा ट्राफिक व्यवस्थापनमा सुधार ल्याउने उद्देश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखाले यो अभियान शुरु गरेको हो ।
ट्राफिक नियमको व्यावहारिक प्रयोग, लेन अनुशासन, मर्यादित सवारी हँकाइ, कानूनलाई आत्मसात् गर्ने प्रवृत्तिलाई प्राथमिकतामा राखी सडकमा हुने लापरवाहीलाई न्यूनीकरण गर्न अभियान सफल हुने महाशाखाले विश्वास लिएको छ ।
अभियानका क्रममा समुदाय प्रहरी साझेदारीसँग समन्वय गरी पर्चा पम्प्लेट, स्टिकर वितरण र श्रव्यदृष्य प्रदर्शनी ट्राफिक नियमबारे सचेतना दिने, सरकारी, सार्वजनिक भाडा र निजी क्षेत्रका चालकलाई पायक पर्ने ठाउँमा सचेतना कक्ष लिने र स्कूल/कलेजका विद्यार्थीलाई विद्यालयमै गएर कक्षा लिने विधि बनाइएको छ ।
महाशाखा र माताहतका ४० एकाइबाट लक्षित समूह पहिचान गरी सञ्चालन गरिने उक्त अभियानमा अधिकृतसहित १३० ट्राफिक प्रहरीको जनशक्ति परिचालन हुनेछ । पुस, माघ र फागुन महिनासम्म सञ्चालन हुने अभियानका क्रममा एक लाख नागरिकलाई सचेतना दिइने छ ।
त्यसक्रममा कम्तीमा सार्वजनिक भाडाका सवारी चालक र सहचालक ३० हजार, निजी सवारी चालक १५ हजार सरकारी चालक ५ हजार, पैदलयात्री २० हजार र विद्यार्थीलाई सवारी सडक अनुशासनबारे प्रशिक्षित तुुल्याइने महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो ।
अभियानको शुभारम्म गर्दै महानगरीय प्रहरी कार्यालयका प्रमुख शैलेन्द्र थापाले मुलुकमा सवारी दुर्घटनाबाट वार्षिकरुपमा २ हजारको सङ्ख्यामा नागरिकले अकालमा ज्यान गुुमाउन परिरहेको बताउँदै सडक सुरक्षा न्यूनीकरणका लागि तय गरिएको १२ विभिन्न कार्यक्रममध्ये उज्यालो कार्यक्रम एक भएको जानकारी दिनुभयो ।
नियम उल्लङ्घन गर्नेबाटै सुरक्षामा खटिएकालाई अपशब्द बोल्ने तथा ट्राफिक नियमबारे थाहा नपाएका गाउँलेभन्दा पढेलेखेका शहरियाबाटै सडक अनुशासन उल्लङ्घनका घटना बढी हुँदै आएको बताइएको छ । चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा परी ७६ जनाको ज्यान गएको छ ।
सडक लेन अनुशासनको पालना नगर्ने, नागबेली पारेर सवारीसाधन कुुदाउने, मादक पदार्थ सेवन गरेर सवारी चलाउने, मोबाइलमा कुरा गरेर सवारी दौडाउने र तीव्रगतिमा मोटर साइकल हाँक्ने नै बढी दुर्घटनामा पर्ने गरेको अध्ययनले देखाएको छ ।
सो अवसरमा उच्च शिक्षालय सङ्घका कावा अध्यक्ष युवराज शर्मा, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला, अखिल नेपाल मजदूर सङ्घका अध्यक्ष सोम तामाङलगायतले महाशाखाको सचेतना अभियानलाई सम्पूर्ण ढङ्गबाट सहयोग पु¥याइने प्रतिबद्धता जनाउनुभयो ।
काठमाडौँ उपत्यकाका विभिन्न चोकको दृश्य हेर्न प्रयोग भइरहेको आकाशे पुललाई यात्रुले प्रयोग गर्ने वातावरण मिलाउन तथा उपत्यकाभित्रका खोलाका कोरिडोरलाई तत्काल सुधार गर्न सकिए यातायातको चाप व्यवस्थापन र दुर्घटनामा न्यूनीकरण आउने उहाँहरुले बताउनुभयो । सो अवसरमा नायब महानिरीक्षक थापाले महाशाखा मातहतका एकाइ प्रमुखलाई अभियानका सम्बन्धमा तयार पारिएको व्यानर हस्तान्तरण गरी कार्यक्रम शुरु भएको घोषणा गर्नुभएको थियो ।
तीन महिने ट्राफिक उज्यालो अभियानको विस्तृत कार्ययोजना

पृष्ठभूमि
‘ट्राफिक सचेतना अवधारणालाई आमनागरीकसम्म पुर्याएर ट्राफिक नियम पालना गर्नुपर्छ’ भन्ने भावना अभिवृद्धि गर्ननेपाल प्रहरीले आत्मसात गरेको लोकप्रिय कार्यक्रम ‘समुदाय-प्रहरी साझेदारी’अन्तर्गत रहेर सडक प्रयोगकर्ता, पैदल यात्री, चालक/सहचालक, स्कुल/कलेजका विद्यार्थी आदि सबैको सहकार्य र सक्रिय संयुक्त सहभागितामा ट्राफिक नियम, सडक अनुशासन र सडक सचेतना (Education) अभिवृद्धि गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखावाट ३ महिने विशेष ट्राफिक उज्यालो अभियान सञ्चालन गरिनेछ ।
ट्राफिक नियमको व्यवहारीक प्रयोग, लेन अनुशासन, मर्यादित सवारी चालक, कानूनलाई आत्मसात गर्ने प्रवृतिलाई प्राथमिकतामा राखि सडकमा हुने लापरवाहीलाई न्युनिकरण गर्नुनै आजको आवश्यकता हो । मुख्य कुरा सडक सुरक्षा सम्बन्धी जनचेतना वृद्धिनै हो । चेतना भएर पनि पालना नगर्नु हाम्रो कमजोरी हो । अहिलेको मुख्य समस्या पनि यही हो। चौडा सडक, सडक बत्ती, चिल्ला सवारी साधनले मात्र ट्राफिकको समस्या समाधान हुने हैन । हामीले सडक प्रयोगगर्ने संस्कृतिमा सुधार र परिवर्तन नल्याएसम्म यस्ता समस्या भइनै रहन्छन् । सडक संस्कृति विकास भएमात्र ट्राफिक व्यवस्थापनमा सहयोग पुग्न सक्छ ।
- लक्ष्य :-
समुदाय प्रहरी साझेदारी कार्यक्रमको मूल उद्देश्यलाई आत्मसाथ गर्दै सडक प्रयोगकर्ता, पैदल यात्री, चालक/सहचालक, स्कुल/कलेजका विद्यार्थीमा ट्राफिक नियम सम्बन्धि चेतना अभिवृद्धि गरी उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप सुधार गर्ने ।
- उद्देश्यहरू
- ट्राफिक सचेतना अवधारणालाई आमनागरिकसम्म पुर्याउने,
- ट्राफिक नियम पालना तथा सडक अनुशासन विषयलाई स्वत: आम प्रवृत्तिको रूपमा विकास गर्ने,
- सडक प्रयोगकर्ताहरूसँगको सम्बन्ध, सहयोग र सहकार्य अझै बढाउने
- सडक दुर्घटनालाई न्यूनिकरण गरी धनजनको क्षति कम गर्ने,
- ‘समुदाय-प्रहरी साझेदारी’ अवधारणालाई नागरिक मैत्री बनाउदै जनविश्वास आर्जन गर्न,
- काठमाण्डौ उपत्यकाको ट्राफिक ब्यवस्थापनमा सुधार ल्याउन,
- अभियानको कार्यनीति
महाशाखा तथा मातहतका ४० वटा ट्राफिक कार्यालयहरूले लक्षित समूह पहिचान गरी अभियान सञ्चालन गर्नेछन् । यसका लागि महाशाखा तथा मातहतवाट सिनियर / जुनियर प्रहरी अधिकृत र प्रहरी जवानहरू गरी जम्मा १३० जना ट्राफिक प्रहरी खटाईनेछ ।
लक्षित समुह:
सडक प्रयोगकर्ता, पैदल यात्री, चालक/सहचालक र स्कुल/कलेजका विद्यार्थीहरू
- अभियान अवधि: ३ महिना (पौष, माघ र फाल्गुन)
- न्यूनतम संख्या :
प्रत्येक इकाईले कम्तिमा प्रति हप्ता २०० का दरले हप्तामा ८,००० र महिनामा ३२,००० र तिन महिनामा एक लाख (१,००,०००) जनालाई सचेतना गराईनेछ । यसमध्ये कम्तिमा सार्वजनिक भाडाका सवारी चालक/ सहचालक ३०,०००, नीजि सवारी चालक १५,०००, सरकारी ५,०००, पैदलयात्री २०,००० र विद्यार्थी ३०,००० सहभागी गराईने छ ।
- अभियान विधि:
- समुदाय प्रहरी साझेदारीसंग समन्वय गरि पर्चा पम्प्लेट स्टिकर वितरण र श्रव्य दृश्य प्रदर्शनी मार्फत ट्राफिक नियमवारे सचेतना दिने ।
- सरकारी, सार्वजनिक भाडा र नीजि क्षेत्रका चालकहरूलाइ पायक पर्ने ठाँउमा सचेतना कक्षा लिने
- स्कुल/कलेजका विद्यार्थीहरूलाई कलेज / विद्यालयमै गएर कक्षा लिने
- अपेक्षित उपलब्धिहरु
- सार्वजनिक सवारीका चालक र सह-चालकहरुले ट्राफिक नियम सम्बन्धि जानकारी हासिल गरी ट्राफिक नियम उल्लङ्घनमा कमि आउने,
- सडक प्रयोगकर्ताहरुले सडक अनुशासन र ट्राफिक नियमको जानकारी पाउने,
- चालकहरुले सडक सुरक्षा र ट्राफिक नियमबारेमा जानकारी हासिल गरि दुर्घटनामा न्युनिकरण हुने,
- स्कुल कलेजका विद्यार्थीहरुलाई ट्राफिक नियम सम्बन्धि ज्ञान हासिल हुने र उनीहरू मार्फत घर परिवार समुदाय सम्म ट्राफिक सचेतना वढ्ने,
- आम नागरिकमा ट्राफिक प्रहरी प्रति जनविश्वास वढ्न गई ट्राफिक व्यवस्थापनमा सुधार हुने,



















