काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सडक दुर्घटना न्यून गर्ने कार्ययोजना बनाएर तत्काल लागू गर्न निर्देशन दिनु भएको छ ।
सिन्धुपाल्चोकमा सवारी दुर्घटनामा १५ जनाको मृत्यु र १९ जना घाइते भएकोे भोलिपल्ट अर्थात आज गृह र भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा मन्त्रालयका पदाधिकारी र प्रहरी प्रमुखलाई बालुवाटार बोलाएर प्रधानमन्त्री ओलीले घटनाबारे चासो राख्दै सो निर्देशन दिनु भएको हो ।
सो अवसरमा प्रधानमन्त्री ओलीेले भने, ‘विरामी अवस्थामा रहेर हो कि म निकै भावुक भएँ । हिजो खाना खान र सुत्न पनि सकिनँ । यस्ता दुर्घटनाले ठूलो संख्यामा सक्षम जनशक्तिको क्षति भएको छ । बृद्धबृद्धा र बालबालिकालाई बेसाहारा बनाएको छ । यसलाई रोक्ने कार्ययोजना बनाउनुप¥यो ।’
गृहमन्त्री रामबहादुर थापा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङ, गृहसचिव, भौतिक पूर्वाधार तथा यातायात सचिव, प्रहरी प्रमूख, ट्रफिक प्रहरी प्रमुख, सडक विभाग र यातायात व्यवस्था विभागका महानिर्देशक लगायत सहभागी बैठकमा प्रधानमनत्री ओलीले सवारी दुर्घटना घटाउने गरी पूर्वाधार निर्माण गर्न र सडक नियम पालना गराउन समेत निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालले जनाएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले निजी सवारी साधनको तुलनामा सार्वजनिक यातायात दुर्घटना हुँदा ठूलो जनधनको क्षति हुने औंल्याउँदै सार्वजनिक यातायातका चालकलाई तालीम, लाइसेन्सको पुनः परीक्षण, सडक पूर्वाधार प्रयोगको अनुमतिमा गम्भीर परीक्षण गर्न निर्देशन दिनुभयो ।
‘‘सिट भन्दा बढी यात्रु राख्न नदिने, छतमा यात्रु राख्न नदिने, निर्माण पूरा नभएका वा यातायात सञ्चालनका लागि योग्य नभएका सडकमा सञ्चालन अनुमति नदिने, चालकको क्षमता परीक्षण गर्नेजस्ता काम तत्काल गरिहाल्नुस्’’ “प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘‘सडक पूर्वाधारको स्वीकृति गर्दा दोहोरो सवारी नचल्ने संरचना स्वीकृत नगर्नुस्, तीब्र गतिका सवारीलाई रोक्ने गरी संरचनाको अनिवार्य व्यवस्था गर्नुस्, बस चालकको कक्षमा ध्यान अन्तै मोड्ने खालका मानिस तथा सामग्री छन् भने हटाउने स्पष्ट नियम बनाउनुस् ।”
हवाई दुर्घटनामा जस्तै हरेक सडक दुर्घटनाका कारणको छानबिन गरी प्रतिवेदन तयार गर्न र सोही अनुरुपको सुधार गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिनुभयो । प्रधानमन्त्रीको निर्देशन अनुरुप यस आर्थिक वर्षमा भएका सडक दुर्घटनाको छानबिन गरी प्रतिवेदन सार्वजनिक गर्ने प्रतिबद्धता गृह मन्त्रालयले व्यक्त गरेको छ ।
छलफलमा गृहसचिव प्रेमकुमार राईले सडक दुर्घटनाको वर्तमान अवस्था, त्यसलाई कम गर्ने उपाय र रोकथामका लागि भएका प्रयासबारे प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । यसैगरी भैतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्की र ट्राफिक प्रहरी प्रमुख भीम ढकालले पनि आ–आफ्नो विभागबाट भएका प्रयासबारे जानकारी दिनुभएको थियो ।


















