काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ को स्थायी समिति बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तर्फबाट प्रस्तुत राजनीतिक प्रतिवेदनमाथिको छलफल भइरहेको छ ।
अधिकांश स्थायी कमिटी सदस्यहरुले पार्टीको संगठन निर्माणलाई अझ सुदृढ ढंगले अगाडि बढाउँदै विधि र पद्दतिको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन् ।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजको बैठकमा १२ जना सदस्यले आफ्नो धारणा राखिसकेका छन् । राजनीतिक प्रतिवेदनमा केन्द्रीत भएर आज नेताहरु बामदेव गौतम, भिम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, मुकुन्द न्यौपाने, योगेश भट्टराई, छविलाल बिश्वकर्मा, अग्नी सापकोटा र गणेश साह देव गुरुङ्ग, पम्फा भुषालले आफ्नो धारणा राखेको बताइएको छ ।
अध्यक्षद्वयको प्रतिवेदनमा सरकार र पार्टीका कामलाई प्रभावकारी बनाउनुपर्ने, आगामी कार्ययोजनालगायत विषय उल्लेख छ ।
बैठकमा राजनीतिक प्रतिवेदनसँगै विधान संशोधन, नेपाल भारत सीमा समस्या र आगामी केन्द्रीय कमिटी बैठकलगायत कार्यसूची निर्धारण गरिएको छ ।
























