काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले अध्यक्षद्वय ‘केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्ड’ को तर्फबाट प्रस्तुत प्रतिवेदन पेश भएको छ ।
आज दिउँसो पार्टी कार्यालय धुम्बाराहीबा बसेको बैठकमा पेश भएको १६ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा सात वटा उपशीर्षक रहेका छ । प्रतिवेदन बारे भोलि छलफल हुने बताइएको छ ।

नेकपाका प्रवक्ता तथा प्रचार बिभाग प्रमुख नारायणकाजी श्रेष्ठका अनुसार प्रतिवेदनका शीर्षकहरुमा अन्तर्राष्ट्रिय परिस्थिति, राष्ट्रिय परिस्थिति, पार्टी एकताको सुदृढीकरण, सरकारको सामान्य समीक्षा, उपचुनावको समीक्षा र आगामी कार्ययोजनासँग सम्बन्धित कार्यक्रमहरु रहेका छन ।
प्रतिवेदनले बिगतको सामान्य समिक्षासहित आगामी कार्ययोजनालाई प्राथमिकता दिएको छ । बैठकमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनबारे संक्षिप्त समीक्षासमेत गर्नुभएको छ । राजनीतिक प्रतिवेदनमाथि भोलिबाट छलफल सुरु हुनेछ । प्रतिवेदन अध्ययनका लागि सोमवार ११ बजेसम्म बैठक स्थगित भएको प्रवक्ता श्रेष्ठले बताएका छन् ।
























