ओमानमा नेपाल भ्रमण वर्ष २०२० विषयक अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । गत शुक्रबार (डिसेम्बर १३, २०१९) मा नेपाल भ्रमण वर्ष २०२० को सचिवालय तथा नेपाली राजदूतावास मस्कटको आयोजनामा ओमानमा रहेका नेपाली समुदायका प्रतिनिधिहरु, वुद्धिजीविहरू लगायत अन्य सरोकारवालाहरुको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
अल–फलाज होटल मस्कटमा आयोजित उक्त अन्तक्र्रिया कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० को सचिवालयका उप–सचिव राजन पौडेलले भ्रमण वर्षका सम्बन्धमा भए गरेका काम कारवाही, तयारी, भ्रमण वर्षको लक्ष्य, उद्देश्यका साथै ब्राण्डिङ्ग गाइडलाइनका विषयमा प्रस्तुति दिएका थिए ।
उक्त कार्यक्रममा नेपाली राजदूतवास मस्कटका महामहिम राजदूत शर्मिला पराजुली ढकालले कार्यक्रमको दौरानमा सहभागीहरुबाट उठेका जिज्ञासाहरूको सम्बोधन गर्दै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन खाडि क्षेत्रमा रहेका सम्पूर्ण नेपाली समुदायको महत्वपूर्ण भूमिका रहने बताउनु भयो । उहाँले ओमानमा कार्यक्रमको आयोजना गरेकोमा नेपाल भ्रमण वर्ष २०२० को सचिवालयप्रति आभार समेत व्यक्त गर्नुभएको दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
त्यस्तै राजदूत ढकालले नेपाल भ्रमण वर्ष २०२० को सचिवालयले गैरआवासीय नेपाली संघसँग भ्रमण बर्षलाई सफल बनाउने समझदारी पत्रमा हस्ताक्षर गरिसकेको सन्दर्भ स्मरण गर्दै यसको प्रवद्र्धनका लागि गैरआवासीय नेपालीहरुको महत्वपूर्ण योगदान रहनु पर्ने विचार व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा सहभागी गैरआवासीय नेपाली समुदाय लगायत उपस्थित सम्पूर्ण महानुभावहरुले भ्रमण वर्षको कार्यक्रमको सम्बन्धमा आफ्ना सुझावहरूसहित चासो व्यक्त गर्दै यसको सफलताका लागि आफ्नो तर्फबाट सक्रिय भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
उक्त कार्यक्रममा नेपाल भ्रमण वर्ष सचिवालयका अन्य कर्मचारीहरू, नेपाली राजदूतावास मस्कटका कर्मचारीहरू लगायत ओमानस्थित नेपालीहरू सहित गरी करिब १०० जनाको उपस्थिति रहेको बताइएको छ ।