काठमाडौं । देशका अधिकांस पहाडी जिल्लाहरुमा हिमपात हुँदा जनजीवन प्रभावित भएकोछ । सिन्धुपाल्चोक, इलाम, ताप्लेजुङ, मुस्ताङ, ओखलढुंगालगायतका जिल्लाहरुमा मात्र होइन राजधानीकै चन्द्रागिरीमासमेत हिमपात भएको छ ।
पश्चिमी न्यून चापीय वायुको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमली भू–भागमा हिमपात र पूर्वका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागले आज बिहान विशेष बुलेटिन जारी गर्दै देशका मध्य र पूर्वी भू–भागका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको हो । मौसमविद्का अनुसार यो क्रम आज बेलुकासम्म कायम रही भोलिबाट क्रमशः सुधार हँुदै जाने बताइएको छ । “पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेकाले उच्च पहाडीसहित हिमाली भू–भागका स्थानमा सतर्कता अपाउनु हुन अनुरोध गरिन्छ”, विभागले भनेको छ ।
विभागका अनुसार हाल देशको मध्य र पश्चिमी पहाडी भू–भाग र पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही केही भू–भागमा हल्का वर्षा भएको साथै उच्च पहाडी र हिमाली भू–भागमा हिमपातसमेत भएको जनाएको छ । हाल देशका अधिकांश भागमा आंशिकदेखि सामान्य बदली रहे पनि मध्य र पूर्वी पहाडी भू–भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले औँल्याएका छन् ।
यसैवीच सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र शेर्माथानमा हिमपात शुरु भएसँगै जनजीवन प्रभावित भएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको शेमार्थान, ता¥र्के घ्याङ, ठाडेपार्टी, मेलम्ची घ्याङलगाएत उच्च भूभागमा शुक्रबारदेखि हिमपात शुरु भएको हो । त्यस्तै पाँचपोखरी थाङ्पाल गाउँपालिकामा पनि हिउँ परेको छ । भोताङ, बरुवाको लथाङ र बगाम, ग्याङ खर्क, गुन्साको च्योच्यो डाँडा, नागी डाँडा आसपासमा हिउँ परेको पाँचपोखरी थाङ्पाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिनुभयो ।
हिमपात शुरु भएपछि सिन्धुपाल्चोकमा चिसो बढेको छ । शुक्रबार बिहानैदेखि हल्का वर्षासहित हिमपात शुरु भएसँगै जिल्लाको उच्च भूभाग तथा शेमार्थान, मेलम्ची घ्याङ, भोताङ, बरुवाको लथाङ र बगाम, ग्याङ खर्क, गुन्साको च्योच्यो डाँडा, नागी डाँडालगायतका स्थान अहिले ढाकिएका छन् । हिउँ परेसँगै पर्यटकको पनि घुइँचो लागेको छ । चिसोका कारण वृद्धवृद्धा, गर्भवती तथा सुत्केरी महिला, बालबालिका बढी प्रभावित भएका छन् ।