अल्जियर्स, नयाँ राष्ट्रपति चयनका लागि अल्जेरियामा बिहीबार भएको निर्वाचनबाट पूर्व प्रधानमन्त्री अब्देलमाजीद ताबून राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ ।
दोस्रो चरणको निर्वाचन गर्नु नपर्नेगरी फराकिलो मत अन्तरले उहाँ निर्वाचित हुनुभएको निर्वाचन आयोगले शुक्रबार जनाएको छ ।
राष्ट्रपतिका उम्मेदवार ७४ बर्षीय ताबून ५८.१५ प्रतिशत मत प्राप्त गर्नुभएको आयोगका अध्यक्ष मोहम्मद चार्फीले जानकारी दिनुभयो ।
उहाँसँगै अन्य चार जना उम्मेदवार पनि चुनावी मैदानमा रहेका थिए । तीमध्ये अब्डेलकाडेर बेन्ग्रीनाले १७.३८ प्रतिशत मत प्राप्त गरेर दोस्रो हुनु भएको छ ।
त्यसैगरी तेस्रो हुनुभएका अली बेन्फ्लीसले १०.५५ प्रतिशत, चौथो हुनुभएका अज्जेड्डीन मिाहौबीले ७.२६ प्रतिशत र पाँचौँ हुनुभएका अब्डेलाजिज बेलैडले ६.६६ प्रतिशत मात्रै मत प्राप्त गनुृभएको निर्वाचन आयोगले जनाएको छ ।
सर्वाधिक धेरै मत ल्याउनु भएका तेब्बौन अव झण्डै दुई दशकदेखि राष्ट्रपतिको रुपमा शासन गर्नुभएका अब्देलाजिज बोटेफ्लिकाको उत्तराधिकारी बन्नुभएको छ ।
अफ्रिकी मुलुक अल्जेरियाका तत्कालिन राष्ट्रपति बोटेफ्लीकाले गत अप्रिलमै आन्दोलनकारीको चर्को दवावपछि राजीनामाको घोषणा गर्नुभएको थियो ।
उहाँ आफै फेरि उम्मेदवार बन्ने बताएपछि आन्दोलनकारीहरूले उहाँलाई राजीनामा दिन र उम्मेदवार नबन्न माग गर्दै आन्दोलन गरेका थिए ।
वृद्ध र बिरामी हुनुका साथै लामो समयदेखि शासन गरेकाले ८२ वर्षीय वृद्ध र बिरामी राष्ट्रपति अब्देलाजिजलाई पाँचौँ कार्यकालमा पनि जिम्मेवारीमा नआउन उनीहरूले माग गरेका थिए । त्यही दवावअनुसार उहाँले केही समयपछि राजिनामा दिनुभएको थियो ।
त्यसपछि पनि आन्दोलन जारी रहेको थियो । आन्दोलनकै कारण गत जुलाई ४ का लागि तोकिएको निर्वाचन सारेर हिजो बिहीबार डिसेम्बर १२ मा गरिएको थियो । त्यतिबेला निर्वाचन अहिलेलाई सारेर अब्देलकादेर बेनसालाहलाई अन्तरिम राष्ट्रपति बनाइएको थियो ।
अन्तरिम राष्ट्रपतिले गराउन लागेको निर्वाचन पनि निष्पक्ष र स्वतन्त्र हुन नसक्ने भन्दै अन्दोलनकारीहरूले प्रदर्शनलाई जारी राखेका थिए ।
निर्वाचनको दिन बिहीबार पनि उनीहरूले अल्जियर्समा प्रदर्शन गरेका थिए । दसौँँ हजार आन्दोलनकारीले विरोध प्रदर्शनका क्रममा कतिपय मतदान केन्द्रमा समेत आक्रमण गरेको र निर्वाचनलाई बाधा पु¥याएको जनाइएको छ ।
लामो समयदेखिको आन्दोलन मत्थर पार्न र नयाँ सरकार बनाउन भन्दै भएको निर्वाचनका विरुद्ध नै उनीहरु प्रदर्शनमा उत्रिएका हुन् ।
निर्वाचनसँग सम्बन्धित कानूनमा व्यापक सुधार गर्नुपर्ने र पुरानो कानून अनुसार हुने निर्वाचन आम नागरिकले चाहेजस्तो नहुने भएकाले प्रदर्शनमा उत्रिएको आन्दोलनकारीहरूले जनाएका थिए ।
निर्वाचन कानुनमा सुधार नगरी चुनाव गरिएकाले अल्जेरियामा राजनीतिक स्थिरता नल्याउने उनीसहित उनीहरुले प्रदर्शनलाई जारी राखिएको बताएका छन् । अल्जेरियामा अधिकारकर्मीहरुले झण्डै दश महिनादेखि आन्दोलन गर्दै आइरहेका छन् । (रासस/एएफपी)
























