काठमाडौं । राष्ट्रियसभाको निर्वाचन आगामी माघ ९ गते बिहीबार हुने भएको छ । मन्त्रिपरिषद् वैठकले माघ ९ गते निर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कुटाले नियमित पत्रकार सम्मेलनमा आज जानकारी दिएका हुन् ।
उनान्नसाठी सदस्यीय राष्ट्रियसभाका सदस्यमध्ये १९ जना सदस्यको आगामी फागुन २१ गतेदेखि पद रिक्त हुँदैछ । राष्ट्रियसभामा नेपाल कम्युनिष्ट पार्टीका ८, नेपाली कांग्रेसका ७ र राष्ट्रिय जनता पार्टीका २, संघीय समाजवादी फोरमका एकजना र सरकारबाट मनोनित एकजनाको दुईवर्षे कार्यकाल सकिँदैछ । नेपालको नयाँ संविधानअनुसार सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन भइसक्नुपर्छ ।
प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन सम्पन्न भएसँगै निर्वाचन आयोग राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा जुटेको बताइएको छ ।
राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने संवैधानिक व्यवस्था छ । सोअनुसार सरिता प्रसाई, सुरेन्द्रराज पाण्डे, हरिचरण सिवाकोटी, रामप्रित पासवान, विन्दादेवी आले, वृषेशचन्द्रलाल, बद्रीप्रसाद पाण्डे, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, मुक्ताकुमारी यादव, डा. युवराज खतिवडा, युटोल तामाङ, रमेशप्रसाद यादव, राजकुमार यादव, दुर्गाप्रसाद उपाध्याय, धनकुमारी खतिवडा, कमलाकुमारी ओली, कालीबहादुर मल्ल र खेमराज नेपालीको पदावधि फागुन २० गते सकिँदै छ ।
अर्थमन्त्रीसमेत रहेका राष्ट्रियसभा सदस्य डा. युवराज खतिवडाको स्थानमा रिक्त हुने पदमा भने राष्ट्रपतिबाट मनोनीत हुनेछ । उनी यसअघि सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका हुन् । देशको अर्थतन्त्र बलियो बनाउँदै लगेकाले खतिडा पुनः मनोनित हुने नेकपा स्रोतले बताएको छ ।
गाउँपालिका अध्यक्ष÷ उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्य राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनका मतदाता हुन् । यो निर्वाचन प्रत्येक प्रदेशमै हुने र तत् प्रदेशबाट राष्ट्रियसभा सदस्यको चयन हुनेछ । राष्ट्रियसभाको आगामी निर्वाचनबाट महिला सात, दलित दुई, अल्पसङ्ख्यक दुई र अन्य सात जना निर्वाचित हुने छन् ।



















