काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र शशांक कोइराला समूहले केन्द्रीय कार्यसमिति बैठक बहिस्कार गरेका छन् । बिहीबार दिउँसो १ बजे बैठक सुरु भएपछि केन्द्रीय सदस्यलाई वितरण गरिएको नौ बुँदे प्रस्तावमाथि छलफल गरिने उल्लेख थियो । वैठकमा सभापति शेरबहादुर देउवाले सहमतिबिनै पार्टी विभागको संख्या बढाउने प्रस्ताव ल्याएको प्रति उनीहरुले आपत्ति जनाउँदै वैठक वहिस्कार गरेका छन् । बुँदा नम्बर ७ मा रहेको केन्द्रीय विभागहरुको संरचनात्मक र संख्यात्मक परिमार्जनसम्बन्धी प्रस्तावमाथि पौडेल, सिटौला र कोइराला समूहले आपत्ति जनाएका हुन् ।
२८ वटा विभागलाई बढाएर सभापति देउवाले ४५ वटा बनाउने तयारी गरेका थिए । भातृ संस्थाको अधिवेशन ६ महिनामा सुनिश्चित गर्न नसकेको, पार्टी महाधिवेशनको कार्ययोजना नल्याएको भन्दै पौडेल र सिटौला पक्षले सभापति देउवाको आलोचना गर्दै आएका छन् ।
सभापति देउवा पक्षले कार्यसमिति बैठकमा पेश गर्ने एजेन्डाबारेमा धारणा बनाउन पौडेल, सिटौला र कोइराला समूहको भेला महामन्त्री शशांक कोइराला निवास धुम्बाराहीमा बुधबार बसेको थियो ।



















