काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा स्वर्णसहित विभिन्न पदक हासिल गरेका नेपाली खेलाडीलाई हार्दिक बधाई ज्ञापन गर्नुभएको छ ।
राष्ट्रपतिले आज अपराह्न ट्वीट गर्दै प्रतियोगितामा सहभागी सबै राष्ट्रका खेलाडी तथा खेल पदाधिकारीमा आभार व्यक्त गर्नुभएको छ । साथै उहाँले सागको सफल आयोजनाका निम्ति युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद्, नेपाल ओलम्पिक कमिटी, प्रशिक्षक, निर्णायकलगायत सम्बद्ध सबैलाई धन्यवाद दिनुभएको छ ।
राष्ट्रपतिले उक्त प्रतियोगिताबाट दक्षिण एशियाली मुलुक र जनताबीचको सम्बन्ध थप प्रगाढ भएको महसुस आफूले गरेको पनि बताउनुभएको छ ।
साग खेलकूद सफल र ऐतिहासिक ः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकामा खेलाडी, खेलप्रेमीलगायत सबैलाई शुभकामना व्यक्त गर्नुभएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भव्य समापन समारोहलाई भिडियो कन्फरेन्समार्फत सम्बोधन गर्दै प्रधानमन्त्रीले साग प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकामा खुशी व्यक्त गर्नुभएको हो ।
“दक्षिण एशियाका लागि मिनी ओलम्पिक मानिने दक्षिण एशियाली खेलको अत्यन्तै ठूलो महत्व रहेको र यो खेल आजैबाट सफलतापूर्वक सम्पन्न हुँदैछ । म खुशी व्यक्त गर्न चाहन्छु, भूकम्पबाट ध्वस्त भएका संरचनाहरू तयार गरेर खेल आयोजना गर्न सफलता मिलेको छ”, प्रधानमन्त्रीले आफ्नो सन्देशमा भन्नुभएको छ । यस पटकको खेलमा पहिले कहिलेभन्दा बढी खेलाडीको सहभागिता, पहिलेभन्दा बढी खेलहरू समावेश भएको उल्लेख गर्दै उहाँले पहिलेभन्दा साग प्रतियोगिता सफल र ऐतिहासिक रहेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले दक्षिण एशियाली खेलकूदले दक्षिण एशियाली देश र जनताका बीचमा एकता र मित्रता अभिवृद्धि गर्ने कुराको अपेक्षा गरिएकामा त्यो अपेक्षा यस पटकको तेह्रौँ दक्षिण एशियाली खेलकूदले अत्यन्तै सफलतापूर्वक पूरा गरेको बताउनुभयो । उहाँले संलग्न सबै पक्षलाई सफल आयोजना र खेलका निम्ति बधाई ज्ञापन गर्दै धन्यवाद दिनुभएको छ ।
काठमाडौँ, पोखरा र जनकपुरधामबाट एकैसाथ खेलकूद प्रतियोगिता सञ्चालन हुनु र सफलतापूर्वक दक्षिण एशियाली खेलकूदको सुखद समापनमा हामी आइपुग्नु ज्यादै खुशीको कुरा हो भन्दै प्रधानमन्त्रीले यस सन्दर्भमा सफलताका लागि योगदान गर्नुहुने नेपाललगायत सबै सहभागी देशका सरकार, खेल क्षेत्र, खेलाडी र प्रशिक्षक सबैलाई धन्यवाद दिनुभयो ।
प्रधानमन्त्री ओलीले भव्य रूपमा सफल भएको यस दक्षिण एशियाली खेलकूदले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस खेलमा सहभागी विभिन्न मित्र देशका खेलाडी, प्रशिक्षक सबैले भ्रमण वर्षलाई मद्दत पुग्नेगरी योगदान गर्नुहुनेछ भन्ने अपेक्षासमेत गर्नुभएको छ । आयोजक राष्ट्रका खेलाडीको हिसाबले खेललाई अनुशासित, मर्यादित र मैत्रीभावलाई केन्द्र भागमा राखेर जुन उत्कृष्ट प्रदर्शन नेपाली खेलाडीहरूले खेलमा गरेका छन् त्यसप्रति हार्दिक धन्यवाद दिँदै उहाँले जुन सफलता प्राप्त भएको छ । सफलता प्राप्त गर्ने सबै खेलाडीलाई बधाई दिनुभएको छ ।
मंगलबार सम्पन्न १३औँ दक्षिण एशियाली खेलकूद (साग)को ३५ वर्षे इतिहासमा नेपालले यसपटक कीर्तिमानी प्रदर्शन गर्दै ५१ स्वर्ण पदकसहित प्राप्त गर्न सफल भएको छ । नेपालले १३औँ सागमा हालसम्मकै सर्वाधिक पदक जितेको छ । यसअघि सन् १९९९ मा काठमाडौँमा सम्पन्न आठौँ सागमा नेपालले ३१ स्वर्ण जितेको थियो ।
तेह्रौँ सागमा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रह्यो । नेपालले ५१ स्वर्ण, ६० रजत तथा ९५ कास्यसहित कूल २०५ पदक जित्यो । नेपालले मंगलबार बक्सिङ र पुरुष फुटबलमा स्वर्ण जितेको थियो । पुरुष फुटबलमा भूटानलाई २–१ गोलले हराउँदै स्वर्ण जितेको थियो भने बक्सिङमा सनिल शाहीले स्वर्ण जितेका थिए । सागमा समावेश २६ खेलमध्ये नेपालले २५ खेलमा पदक जितेको छ । नेपाल सुटिङमा भने पदकविहीन रह्यो ।
नेपालले आठौँ साग जस्तै यसपटक तेक्वान्दो र करातेमा सफलता प्राप्त ग¥यो । तेक्वान्दोबाट सर्वाधिक १२ तथा करातेबाट १० स्वर्ण पदक प्राप्त भयो । बक्सिङमा नेपालले दुई दशकपछि स्वर्ण पदक पायो । बक्सिङमा नेपालले तीन स्वर्ण जितेको छ । तेह्रौँ सागमा पौडीकी गौरिका सिंह सर्वाधिक सफल खेलाडी बनिन् । उनले सागको एउटै संस्करणमा चार स्वर्ण जित्दै कीर्तिमान बनाइन् ।
यस्तै करातेका मण्डेकाजी श्रेष्ठ र आयशा शाक्यले एउटै संस्करणमा दुई स्वर्ण कीर्तिमान बनाए । महिला क्रिकेटतर्फ अञ्जली चन्दले दुई दशमलव एक ओभर बलिङ गर्दै बिना कुनै रन छ विकेट लिएर विश्व कीर्तिमान बनाइन् । तेह्रौँ सागका खेल काठमाडौँ, ललितपुर, पोखरा र जनकपुरमा खेलाइएका थियो ।
भारत १७४ स्वर्ण, ९३ रजत र ४५ कास्यसहित कूल ३१२ पदक जित्दै पदक तालिकाको शीर्ष स्थानमा रह्यो । यस्तै श्रीलङ्का ४० स्वर्ण, ८३ रजत र १२८ कास्यसहित कूल २५१ पदक जित्दै तेस्रो, पाकिस्तान ३१ स्वर्ण, ४१ रजत र ५९ कास्यसहित कूल १३१ जितेर चौथो, बङ्गलादेश १९ स्वर्ण, ३२ रजत र ८७ कास्यसहित कूल १३८ पदक जितेर पाँचौँ, माल्दिभ्स एक स्वर्ण र चार कास्य गरी कूल पाँच पदक जित्दै छैटौँ तथा भूटान सात रजत र १३ कास्यसहित कूल २० पदक जित्दै साग पदक तालिकाको अन्तिम स्थानमा रह्यो ।
सागमा स्वर्ण पदक जित्ने नेपाली खेलाडी
सागमा कराँते (एकल काता)– मण्डेकाजी श्रेष्ठ, कराँते (टिम काता, पुरुष)– मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रवीण मानन्धर, कराँते (टिम काता, महिला)– निर्मला तामाङ, सङ्गीता मगर, सरु कार्की, कराँते (५५ केजी)– लक्ष्मण तामाङ, कराँते (८४ केजीमाथि)– विप्लवलाल श्रेष्ठ, कराँते (४५ केजी मुनि)– कुसुम खड्का र कराँते (५० केजीमुनि) अनु अधिकारीले स्वर्ण पदक जित्नुभयो ।
त्यसैगरी कराँते (६७ केजी)– नवीन रसाइली, कराँते (६८ केजी)– सुनिता महर्जन, कराँते (६८ केजी)– अनुपमा मगर, तेक्वान्दो पुम्से (२३–२९ वर्ष)– कमल श्रेष्ठ, तेक्वान्दो पुम्से (१७–२३ वर्ष)– सिना मादेन लिम्बु, तेक्वान्दो पुम्से (२३–२९ वर्ष)– पार्वती गुरुङ, तेक्वान्दो पुम्से (२९ वर्षमाथि)– आयशा शाक्य, तेक्वान्दो पुम्से (२९ वर्षमाथि)– आयशा शाक्य र सञ्जिवकुमार पाण्डेले नेपाललाई स्वर्ण पदक दिलाउनुभयो ।
पुम्से महिला टिम (१७–२३ वर्ष)– निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना, पुम्से महिला टिम (२३–२९ वर्ष)– निता गुरुङ, प्रशंसा क्षेत्री र सशीला राई, तेक्वान्दो (४६ केजी मुनि)– काजल श्रेष्ठ, तेक्वान्दो (६८ केजीमुनि)– वीरबहादुर महरा, ट्रायथलनमा सोनी गुरुङ, डुवाथोलनमा हिमाल टमाटा, उसु (थाउलो) मा विजय सिन्जाली, उसु (थाउलो)तर्फ सुस्मिता तामाङ, उसु (थाउलो)तर्फ दीपक हमाल, एथलेटिक्स (१० हजार मिटर)मा सन्तोषी श्रेष्ठ, साइक्लिङ (डाउनहिल) मा राजेश मगर र साइक्लिङ (डाउनहिल) मा निश्मा श्रेष्ठले पनि नेपाललाई लागि स्वर्ण पदक दिलाउनुभयो ।
त्यस्तै तेक्वान्दो (६२ केजीमुनि)– सङ्गीता बस्याल, तेक्वान्दो (८७ केजी)– सक्षम कार्की, उसु (थाउलो नान्दौ)– नीमा घर्तीमगर, साइक्लिङ (क्रस कन्ट्री)– लक्ष्मी श्रेष्ठ, साइक्लिङ (क्रस कन्ट्री)– बुद्धिबहादुर तामाङ, पौडी (२०० मिटर फ्रिस्टाइल)– गौरिका सिंह, तेक्वान्दो (८७ केजी)– भुपेन श्रेष्ठ, भारोत्तोलन (५९ केजी)– सन्जु चौधरी र उसु (५६ केजी)– जुनी राईले स्वर्ण पदक हात पार्नुभयो ।
त्यस्तै एथलेटिक्स (पाँच हजार मिटर दौड)– गोपीचन्द्र पार्की, गल्फ– सुवास तामाङ, गल्फ (टिम इभेन्ट)– सुवास तामाङ, शुक्रबहादुर राई, टङ्कबहादुर कार्की र निरज तामाङ, भारोत्तलन– विकास थापा, पौड (दुई सय मिटर ब्याकस्ट्रोक)– गौरिका सिंह, म्याराथन– किरणसिंह बोगटी, कुस्ती (५५ केजी)– सङ्गीता धामी र पौडी (चार सय मिटर फ्रिस्टाइल)– गौरिका सिंहले स्वर्ण पदक जित्नुभयो ।
जुडो (५२ केजीमुनि)– देविका खड्का, बक्सिङ (५४ केजी)– मिनु गुरुङ, बक्सिङ (६४ केजी)– भुपेन्द्र थापा, जुडो (७८ केजी)– पुनम श्रेष्ठ, पौडी (एक सय मिटर फ्रिस्टाइल)– गौरिका सिंह, बक्सिङ (६० केजी)– सुनिल शाही र फुटबल पुरुषमा स्वर्ण पदक प्राप्त भएको छ ।
साग पदक तालिका ः
देश स्वर्ण कास्य रजत जम्मा
भारत १७४ ९३ ४५ ३१२
नेपाल ५१ ६० ९५ २०६
श्रीलङ्का ४० ८३ १२८ २५१
पाकिस्तान ३१ ४१ ५९ १३१
बङ्गलादेश १९ ३२ ८७ १३८
माल्दिभ्स १ ० ४ ५
भूटान ० ७ १३ २०
चौधौँ साग पाकिस्तानमा
साग १४औँ संस्करण पाकिस्तानले आयोजना गर्नेछ । चौधौँ साग आयोजनाको जिम्मेवारी पाएको पाकिस्तानलाई आज झण्डा हस्तान्तरण गरिएको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले पाकिस्तान ओलम्पिक कमिटीका अध्यक्ष सइद आरिफ हसनलाई १४औँ साग आयोजनाको झण्डा हस्तान्तरण गर्नुभएको थियो । दक्षिण एशियाली ओलम्पिक काउन्सिलको बैठकले आगामी संस्करणको साग आयोजना गर्ने जिम्मेवारी पाकिस्तानलाई दिने निर्णय गरेको थियो । पाकिस्तानले आगामी छ महिनाभित्र १४औँ सागको मिति तथा स्थान तय गर्ने जनाएको छ ।