काठमाडौं । सामाजिक सञ्जाल मार्फत करोडौं रकम ठगी गर्ने गिरोहका तीन जनालाई प्रहरीले पक्राउ गरि बुधबार सार्वजनिक गरेको छ ।
महानगरीय अपराध महाशाखाको विशेष टोलीले पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा दोलखा जिल्ला फुलवा गाविस वडा नम्बर दुईका वर्ष ५२ का रमेश खड्का, नवलपरासी रामग्राम नपा १७ का वर्ष ३७ का विशेश्वर प्रसाद तिवारी र नवलपरासी रामग्राम नपा १७ कै वर्ष १९ का सन्दिप कलवार रहेका छन् ।
विदेशी नागरिकले नेपाली नागरिकलाई एजेन्ट बनाइ लामोसमयदेखि सामाजिक सञ्जालमार्फ करोडौं रुपैयाँ ठगी गर्दै आएको पाइएको प्रहरीले जनाएको छ ।
नाइजेरियन र भारतीय नागरिकहरुले भारतको दिल्ली, मुम्बइ, पाकिस्तान, चीन, तान्जानिया इथियोपिया तथा बेलायतमा बसी नेपालका नागरिकहरुलाई एजेन्ट बनाइ लामो समयदेखि भाइबर, ह्वाट्एप, इमो, फेसबुक लगायतका सामाजिक सञ्जालको प्रयोग गरि ठगी गर्दै आएको प्रहरीले जनाएको छ ।
अनलाइनको माध्यमबाट चिट्ठा परेको, पार्सल आएको भन्दै प्रलोभनमा पारि करोडौं रकम ठगी गर्नुका साथै नेपालका बैंक तथा वित्तीय संस्थाहरुसमेत ह्याक गरेर ठगी गरेको पाइएको प्रहरीले जनाएको छ । ठगी तथा ह्याक गरेको रकम नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थाहरु मार्फत कारोबार गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।
ठगिएको रकमको १५ देखि २० प्रतिशत नेपाली एजेन्टलाई दिइ बाँकी रकम विभिन्न माध्यमबाट भारत पठाउने गरिएको र त्यसमा संलग्न गिरोहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कृषि विकास बैंक, पानश रेमिट ह्याक भएका थिए । जसका लागि विभिन्न १७ वटा बैक प्रयोग भएका थिए । त्यस्तै बैंक अफ काठमाडौं, प्रभु वैंक, मेगा बैंक, हिमालयन, सनराइज, सिटिजन लगायतका बैंकको प्रयोग ह्याकरहरुले गरेको प्रहरीले जनाएको छ ।
विदेशमा रहेको गिरोहले नेपाली एजेन्टलाई विभिन्न बैंकमा खाता खोल्न लगाएर कारोबार गर्ने गरेका थिए । एउटै एजेन्टबाट ६ वटा भन्दा बढी बैंक खाता खोल्न लगाइ कारोबार भएको देखिएको प्रहरीले जनाएको छ । ह्याकरको उक्त समूहले यस्तो कामका लागि ४० भन्दा बढी नेपाली एजेन्टहरु परिचालन गरेको प्रहरीको दाबी छ ।
प्रहरीका अनुसार हालसम्म १४ करोड ६७ लाख ९१ हजार रुपैया शंकास्पद रुपमा कारोबार भएको देखिएको छ भने हालसम्म ३४ जना नेपाली अनलाईन ठगीमा संलग्न भएको पाइएको प्रहरीले जनाएको छ ।


















