काठमाडौं, । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ का वरिष्ठ नेता माधव कुमार नेपाल र नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीबीच आज भेट वार्ता भएको छ ।
नेकपाका विदेश मामला विभाग प्रमुख समेत रहेका नेता नेपाललाई भेट्न पुरी कोटेश्वरस्थित नेपाल निवास पुगेका थिए । भेटमा राजदूत पुरीले आफ्नो नेपाल बसाइ पूरा हुन लागेको र यसबीचमा आफ्ना कार्यकालको चर्चा गरेको नेता नेपालनिकटले बताएका छन् ।
नेता नेपाल र राजदूत पुरीबीच नेपाल भारत सम्बन्धका विविध पक्षमा समेत कुराकानी भएको बताइएको छ । भेटमा भारतले जारी गरेको पछिल्लो राजनीतिक नक्सा र सीमामा देखिएको विवाद समाधान गर्ने विषयमा पनि नेता नेपाल र भारतीय राजदूत पुरीबीच अनौपचारिक छलफल भएको बताइएको छ ।
भारतले जारी गरेको नक्सामा नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी सभावेश गरेपछि नेपालमा भारतको चर्को विरोध भइरहेको छ । सीमा विवादको विषयलाई लिएर प्रधानमन्त्री केपी ओलीको विशेष दूत बनेर नेता नेपाल भारत जाने चर्चा चलिरहेका बेला भएको यो भेटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।