काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको अस्पतालले जनाएको छ । महाराजगञ्जस्थित ‘मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’का कार्यकारी निर्देशक प्रा. डा. उत्तमकृष्ण श्रेष्ठले आज जारी गर्नुभएको विज्ञप्तिमा प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको जनाइएको हो ।
प्रधानमन्त्री ओलीलाई सीमित व्यक्तिसँग बाहेक अन्यलाई भेटघाट गर्न दिइएको छैन । प्रधानमन्त्री आईसीयुभित्रै सामान्य हिँडडुल गर्न सक्षम रहेको र बोलीचालीमा कुनै समस्या नरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री ओलीले आइतबार साँझ आइप्याडबाटै सागको उदघाटन समारोह हेरेको सचिवलय सदस्यले बताएका छन् ।
स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीको मङ्सिर १० गते सोही केन्द्रमा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । प्रधानमन्त्री ओलीको आठौं पटक मिर्गौलाको डायलासिस पनि सोही अस्पतालमा गरिएको छ ।