काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड सन् २०१९ का लागि ‘बैंक अफ दि इयर’ बनेको छ । बेलायतको फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने ९० वर्ष भन्दा बढी इतिहास बोकेको विश्वविख्यात पत्रिका ‘दि बैंकर’ले सन् २०१९ का लागि अन्तर्राष्ट्रियस्तरमै प्रतिष्ठित ‘बैंक अफ दि एयर २०१९, नेपाल’ बाट मेगा बैंकलाई सम्मान गरेको हो ।
बैंकका अनुसार लण्डनमा बिहीबार साँझ आयोजित एक समारोहबीच मेगा बैंकका अध्यक्ष भोजबहादुर शाह र प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले ‘बैंक अफ दि एयर, २०१९’ को सम्मान ग्रहण गरेका हुन् ।
‘दि बैंकर’ले विश्वभरका एक सय २० भन्दा बढी राष्ट्रहरुका एक हजारभन्दा बढी बैंकहरुमध्ये हरेक राष्ट्रबाट एउटा उत्कृष्ट बैंकको छनौट गरी बैंक अफ दि इयर पुरस्कारबाट वर्षैपिच्छे सम्मानित गर्ने गरेको छ । सम्मान ग्रहण गरेपछि मेगा बैंकका अध्यक्ष शाहले अनवरत रुपमा ग्राहकवर्गलाई उत्कृष्ट वित्तीय सेवा प्रदान गर्दै थप हौसलाका साथ अघि बढ्न यो सम्मान मेगा बैंकका लागि महत्वपूर्ण कोसेढुङ्गाको रुपमा स्थापित भएको व्यहोरा व्यक्त गरे । अध्यक्ष शाहले मेगाको सफलता एवं उपलब्धिमा आप्mनो सहयोग, साथ तथा हौसलाद्वारा महत्वपूर्ण योगदान पु¥याउने ग्राहकवर्ग, सेयरधनी, कर्मचारी, नियामक निकायहरु, सञ्चारजगत् लगायत शुभेच्छुकहरुप्रति आभार र कृतज्ञता समेत व्यक्त गरेका छन् ।

मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले नौ वर्षको छोटो सञ्चालन अवधिमै गुणस्तरीय बैंकिङ सेवा तथा सुविधाहरु प्रदान गरेर प्रतिस्पर्धाको अग्रपङ्क्तिमा रहन सफल भएकै कारण मेगा बैंकले ‘बैंक अफ दि एयर, २०१९’ को उपाधि हासिल गरेको भन्दै आगामी दिनहरुमा बैंकलाई थप सबल, समृद्ध एवं सक्षम बनाउन सबैको निरन्तर साथ र सहयोग रहिरहने विश्वास प्रकट गर्दै आगामी दिनहरुमा समेत उत्कृष्ट सेवा प्रदान गर्न मेगा बैंक सदैव कटिबद्ध रहने प्रतिबद्धता व्यक्त गरेकी छिन ।
मेगा बैंकले अन्तर्राष्ट्रिय मापदण्डबमोजिमको गुणस्तरीय व्यवस्थापन प्रणाली अनुशरण गरेवापत ‘आईएसओ ९००१ः२०१५’ प्रमाणपत्र समेत प्राप्त गरेको थियो ।




















