काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हत्या, बलात्कार र जघन्य अपराधमा संलग्नहरुलाई कारबाही भएरै छाड्ने बताएका छन् । १७ औं बुद्धिमान पाख्रिनको स्मृति दिवसको अवसरमा पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले आफूमाथि पनि द्वन्द्वकालीन मुद्दा रहेको स्मरण गर्दै दोषी ठहर भए कारबाही भोग्न तयार रहेको बताएका छन् । उनले आफू आममाफीको पक्षमा नरहेको दोहोर्याएका छन् ।
हत्या बलात्कार र जघन्य अपराधमा संलग्नहरुले उन्मुक्ति पाउने वातावरण नबनोस् भनेर आफूले आन्तरिम संविधानका बेलामा ‘द्वन्द्वका बेला जे भयो, भयो अब बिर्सौं’ भन्ने प्रस्ताव अस्वीकार गरेको बताएका छन् ।
अन्तर्राष्ट्रिय अनुभव र न्यायको मान्यतालाई मध्यनजर गर्दै प्रत्येक घटनाको छानविन गर्दै सत्य पत्ता लगाउनुपर्ने वताउँदै जघन्य अपराधमा संलग्न राज्य वा विद्रोही पक्ष जो भए पनि केही न केही कारबाही गर्नुपर्ने बताएका छन् । उनले भविष्यमा त्यस्ता घटना दोहोरिन नदिने वातावरण बनाउनका लागि पनि कुनै न कुनै कारवाही हुनुपर्ने स्पष्ट पारेका छन् ।
विद्रोहका क्रममा नहुनुपर्ने घटना भएको भन्दै अध्यक्ष प्रचण्डले जनयुद्धको नेतृत्व गर्ने पार्टी र त्यसको नेताका हैसियतमा राम्रा र नराम्रा सबै घटनाको जिम्मेवारी आफूले लिने पनि बताएका छन् । ‘
सशस्त्र द्वन्द्वकालका घटनाहरुको छानविन गरी सत्यतथ्य पत्ता लगाउने, दोषीलाई कारबाही र मेलमिलापको वातावरण बनाउन छिट्टै आयोगहरु बन्ने अध्यक्ष प्रचण्डले बताएका छन् ।
























