भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भडेल १३ हजार ७४८ मतसहित प्रदेशसभा सदस्यमा विजयी भएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय १० मत प्राप्त गरेका छन् भने नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत प्राप्त गरेका छन् ।
भक्तपुर क्षेत्र नम्बर १ (क) मा कूल ४५ हजार १५ जना मतदाता रहेका मध्ये ३२ हजार ३७ मत अर्थात ७१ प्रतिशत मत खसेको थियो । गएको निर्वाचनमा यस क्षेत्रमा १२ हजार सात ८९ मत ल्याई एमालेका हरिशरण लामिछाने विजयी भएका थिए । उनको निधन भएपछि सो पदमा उपनिर्वाचन भएको हो ।
१९ जनाले उम्मेदवारी दिएकोमा १६ उम्मेदवारको जमानत जफत भएको छ । जमानत जफल हुनेमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार श्यामप्रसाद नेपाल (५७४ मत), साझा पार्टीका सुरज प्रधान (३९३ मत), नेपाल कम्युनिस्ट पार्टी (माले)का सुदर्शन लामिछाने (३७ मत) छन् ।
यसैगरी समाजवादी पार्टीका सुदर्शनकुमार मुनकर्मी (३२ मत), संघीय लोकतान्त्रिक मञ्चका मिङमार लामा (५ मत) र नेपाली कांग्रेस (बीपी) का मधुसुदन न्यौपाने (२ मत)को पनि जमानत जफत भएको छ ।
त्यस्तै स्वतन्त्र उम्मेदवारहरु राकेश सुवाल, सुमना कार्की, अर्जुन कोजु, कृष्णप्रसाद ह्योगो, कृष्णराम पोतामाहा, संगीता पौडेल आचार्य र सुजाता देउजाको पनि जमानत जफत भएको छ । सो क्षेत्रमा स्वतन्त्र उम्मेदवार देउजाले १ मतमात्र हासिल गरेकी छन् ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार सम्बन्धित निर्वाचन क्षेत्रमा सदर भएको कुल मतको १० प्रतिशत मत हासिल गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ । त्यस्तो उम्मेदवारले धरौटीबापत राखेको रकम फिर्ता पाउँदैन ।