काठमाडौं । उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । आज भएको प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदको भएको उपनिर्वाचनका क्रममा केही स्थानमा बम विष्फोटका छिटफुट घटनाबाहेक शान्तिपूर्ण रूपले मतदान सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।
मतदानको पूर्णविवरण आउन बाँकी रहे पनि अधिकांश स्थानमा करिब ७० प्रतिशत मतदान भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताएका छन् । बिहान सात बजेबाट सुरु भएको मतदान अहिले अपरान्ह पाँच बजे सम्पन्न भएको हो ।
३७ जिल्लामा भएको उपनिर्वाचनका क्रममा शनिबार कास्की र लमजुङका मतदानस्थलमा बम विष्फोट भएको थियो । कास्कीको पोखरामा भने श्रृंखलाबद्ध रूपमा विभिन्न चारवटा मतदानस्थल नजिकै बम बिस्फोट भएको थियो ।
उपनिर्वाचनालाई लक्षित गर्दै पोखरा ९ नयाँ बजारमा रहेको नवप्रभात मावि, पोखरा १६ स्थित शान्ति मावि, पोखरा– ३३ मा भरतपोखरीमा रहेको सरस्वती टिका मावि र पोखरा १६ को चण्डिका आधारभूत विद्यालय मतदानस्थल नजिकै बम बिस्फोट भएको हो । बम विस्फोटबाट कुनै क्षति नभएको प्रहरीले जानकारी दिएको छ ।