काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली खतरामुक्त रहेको चिकित्सकहरुले बताएका छन् । मंगलबार एपेन्डिसाइटिसको शल्यक्रिया गरेपछि प्रधानमन्त्री ओलीको मनमोहन कार्डियोथोरासिक एन्ड भास्कुलर सेन्टरमा उपचार भैरहेको छ ।
सेन्टरमा आज विहान आयोजित पत्रकार सम्मेलनमा चिकित्सकहरुले उहाँको अवस्था खतरामुक्त रहेको बताउनु भएको हो । प्रधानमन्त्रीको निजि चिकित्सक डा. दिव्या शाहले पूर्ण रुपमा कोही पनि खतरामुक्त नहुने भन्दै तत्कालको अवस्थामा उहाँ खतरामुक्त रहेको जानकारी दिइन् । उनले भनेकी छिन् ‘अहिलेको अवस्था खतरामुक्त हो, भोली, पर्सी वा पछिको अवस्था कसैले पनि केही भन्न सक्दैन ।’
प्रधानमन्त्री ओलीको निर्देशनपछि शल्यक्रियाको तीन दिनपछि उपचारमा संलग्न चिकित्सकहरुले पत्रकार सम्मेलन गरी पछिल्लो स्वास्थ्य अवस्थाबारे जानकारी गराइएको हो । राष्ट्रपति भण्डारीले बिहीबार अस्पताल पुगेर प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनु भएको थियो । सो अवसरमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओलीको अवस्थाबारे सही जानकारी सार्वजनिक गर्न सुझाव दिनु भएको थियो ।
पत्रकार सम्मेलनमा चिकित्सकहरुले प्रधानमन्त्री ओलीलाई १० दिन अस्पतालमा राख्नुपर्ने जानकारी दिएका छन् । अर्को सातामात्रै अस्पतालबाट डिस्चार्ज गरिने बताइएको छ ।

डाक्टर रमेशसिंह भण्डारीले प्रधानमन्त्री ओलीलाई पहिलाकै अवस्थामा फर्किनको लागि अझै दुई साता लाग्ने जानकारी दिएका छन् ।
डा. भण्डारीले भने ‘अहिलेको हिसावले हेर्ने हो भने अबको ७ दिनमा हामीले उहाँलाई यहाँबाट पठाउन सक्छौँ, उहाँले घाउलाई सहन सक्ने अवस्था रह्यो भने १० दिनपछि काममा फर्कन सक्नुहुन्छ ।’
कसैको समयमै घाउ निको हुने र कसैलाई समस्या पनि हुन सक्ने भन्दै उनले यही अवस्थामा सुधार हुँदै गयो भने प्रधानमन्त्री अबको दुई सातामा सामान्य अवस्थामा फर्किन सक्ने पनि बताए । एपेन्डिक्स फुटेपछि पेटमा संक्रमण फैलिएको बताउँदै डा. भण्डारीले हाल संक्रमण हटिसकेको जानकारी गराए ।
प्रधानमन्त्री ओलीको अहिले पनि आइसीयूमा राखेर उपचार भइरहेको छ । पत्रकार सम्मेलनमा प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंहले मिर्गाैला र एपेन्डिसाइटिसको अप्रेशन बाहेक कुनै पनि समस्या नभएको भन्दै मिर्गाैला प्रत्यारोपण गर्ने नगर्ने बारेमा निर्णय नभएको बताइन् ।
१२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएका प्रधानमन्त्री ओलीको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएको छ । पछिल्लो पटक ग्राण्डी अस्पतालमा प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलाइसिस गरिँदै आएको थियो । अहिले मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमै डायलाइसिस गरिएको छ ।




















