काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार हुँदै गएपछि आज विहान ८ बजे भेन्टिलेटरबाट हटाइएको अस्पतालले स्रोतले बताएको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक तथा भास्कुलर ट्रान्सप्लान्ट सेन्टरमा मंगलबार ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो । चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै राख्न सुझाब दिएका छन् ।
शल्यक्रिया गर्नुअघि नै एपेन्डिक्स फुटेर प्रधानमन्त्रीको पेटमा संक्रमण भएको थियो । जसले गर्दा केही दिन अस्पतालमै बस्नुपर्ने अवस्था आएको अस्पताल स्रोतले जनाएको छ ।
‘प्रधानमन्त्रीको उच्चमनोवल हामी सबैको प्रेरणा’
प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको उच्चमनोवल हामी सबैको प्रेरणा भएको बताएका छन् ।
प्रधानमन्त्रीको उच्चमनोवल, दूरदर्शिता तथा विकासका धारणा सबै नेपालीका लागि प्रेरणाको स्रोत भएको उल्लेख गरे । मुख्यमन्त्री पौडेलले आज एक सन्देश दिँदै स्वस्थ्यमा समस्या आएर अस्पतालमा उपचार गराइरहनुभएका प्रधानमन्त्रीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
यसैवीच प्रधानमन्त्री ओलीको स्वास्थ्य बारे पूर्वराजाले पनि जानकारी लिएका छन् । पूर्वराजाले हिजो निजी सचिव पशुपतिभक्त महर्जनलाई अस्पताल पठाएर स्वास्थ्य लाभको शुभकामना सन्देश दिएका थिए भने स्वास्थ्य स्थितिबार जानकारी लिएका थिए ।
त्यस्नै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललगायतका नेताहरुले पनि प्रधानमन्त्री ओलीका स्वास्थ्यबारे जानकारी लिएको बताइएको छ ।