काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ ।
प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका क्रममा आज बिहान सो सेन्टरमा जानुभएको थियो । उहाँलाई एपेन्डिसाइटिस भएको पत्ता लागेपछि चिकित्सकले शल्यक्रिया गरेको उहाँका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।
उपचारमा प्रा डा अरुण सायमी, प्रा डा रमेशसिंह भण्डारी, डा दिव्या सिंहलगायतलगायत संलग्न हुनुहुन्छ । चिकित्सकका अनुसार एपेन्डिसाइटिस भएमा जति सक्यो चाँडो यसको शल्यक्रिया गर्नुपर्ने हुन्छ । यसअघि प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या आएपछि डायलासिस गरिएको थियो ।
स्वास्थ्य स्थिर
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले वताएका छन् । मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री ओलीलाई हाल सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको जनाइएको छ ।
प्रधानमन्त्री ओलीको ‘ल्यापारोटोमी एण्ड एपिन्डिकटोमी’ लगायत विधिबाट उपचार गरिएको विज्ञप्तिमा जनाइएको छ ।