श्रमजीवी वर्गका पक्षमा लडिरहने विष्टको प्रण
काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले एकीकृत सामाजिक सुरक्षा नीति तर्जुमाका लागि कानून मन्त्रालयको राय लिनेसम्बन्धी निर्णय सदर गरेका छन् ।
पदबहालीका क्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री यादवले वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन आफू केन्द्रित हुने बताए । अदक्ष कामदार वैदेशिक रोजगारीमा जाँदा मुलुकले ठूलो क्षति व्यहोर्नुपरेका आफूले निजकबाट नियालेको उल्लेख गर्दै उनले सीपयुक्त जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउने नीति अख्तियार गरिने बताए ।
यसैवीच पदबाट बाहिरिएपछि मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आफू मन्त्री पदबाट बाहिरिए पनि देश, जनता र श्रमजीवी वर्गका पक्षमा लडिरहने प्रण गरेका छन् ।
सरकार बदलिने र मन्त्रिमण्डल फेरबदल स्वभाविक प्रक्रिया भएको उल्लेख गर्दै विष्टले भने ‘जनताको पक्षमा काम गर्दा निकै ठूलो चुनौतीको सामना गर्नुपर्छ भन्नेमा म पहिल्यै जानकार थिएँ, वैदेशिक रोजगारी सुधारका साथै जनताको पक्षमा काम गर्दा ठूलो अप्ठ्यारोमा पारियो ।’
आफू श्रममन्त्रीका रूपमा कार्यरत रहँदा वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवा, पसिनाको मूल्य नपाएका श्रमिक र बेरोजगार युवाको पक्षमा इमान्दारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेको वताउँदै विष्टले मन्त्रीका रूपमा काम गर्ने अवसर प्रदान गरेकोमा प्रधानमन्त्रीप्रति कृतज्ञ व्यक्त गरेका छन् ।
नवनियुक्त मन्त्री रामेश्वरराय यादवलाई कार्यकाल सफलताको शुभकामना दिँदै उनले श्रमजीवी वर्गको पक्षमा आफूले चालेको कदम सफल हुने विश्वास व्यक्त गरे । बेरोजगारी, अभाव तथा गरीबीसँग लडिरहेका नेपालीलाई थोरै भए पनि राज्यका तर्फबाट सुरक्षा प्रदान गर्न प्रधानमन्त्री रोजगार कार्यक्रम, सामाजिक सुरक्षा योजना सञ्चालनमा ल्याइएको वताउँदै विष्टले ती कार्यक्रम सफलताप्रति आशङ्का व्यक्त गरेका छन् ।