मन्त्रालयले धेरै रेकर्ड तोडेको छ : निवर्तमान मन्त्री महासेठ
काठमाडौँ । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले समृद्ध नेपाल निर्माणसँग जोडिएको आफ्नो मन्त्रालयका काम कारवाहीलाई गति प्रदान गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
कार्यभार सम्हालेपछि पत्रकाररुसँग संक्षिप्त कुरा गर्दै मन्त्री नेम्वाङले विगतका कमिकमजोरीलाई सच्याउँदै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न मन्त्रालयले जोड दिने बताएका छन् । उपयुक्त नीति बनाउने, भएका नीति तथा कार्यक्रमलाई अगाडि बढाउने र समस्याको समाधानमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै मन्त्री नेम्वाङले काठमाडौँलगायत विभिन्न क्षेत्रमा धुलो उड्ने, कालोपत्र उप्कनेलगायतका विविध समस्याको समाधानमा लाग्ने बताएका छन् ।
सडक, रेल र यातायात विभागले गरेका काम कारवाहीका विषयमा अध्ययन गरेर उचित निर्णय लिने वताउँदै मन्त्री नेम्वाङले राष्ट्रिय महत्वका योजनाका काम द्रुत गतिमा लैजानु जरुरी रहेको बताएका छन् । विगतभन्दा धेरै कुराहरु सुधार आएको वताउँदै मन्त्री नेम्वाङले त्यसलाई अझ तीव्रताका साथ सुधारर्दै लैजाने बताएका छन् ।
यसैवीच नवनियुक्त मन्त्री नेम्वाङलाई वधाई दिन मन्त्रालय पुगेका निवर्तमान मन्त्री रघुवीर महासेठले २० महिना आफूले मन्त्रीको हैसियतमा काम गर्न पाएकोमा खुशी व्यक्त गर्दै मन्त्रालयले धेरै रेकर्ड तोड्न सफल भएको दावी गरे ।
विगतमा एक वर्षमा ७२ वटाभन्दा बढी पक्की पुल बन्न नसकेकामा २०७४÷७५ मा ८६ वटा बनेको जानकारी दिँदै उनले गत २०७५÷७६ को असार १८ गतेसम्ममा २४३ वटा पुल बनिसकेको वताए ।
महासेठले यस वर्ष ३०० वटा पुल निर्माणको लक्ष्य रहेको जानकारी दिँदै मन्त्री नेम्वाङको कार्यकालमा आफूले बनाएको रेकर्ड तोड्ने विश्वास व्यक्त गरे । पहिले एक वर्षमा ६०० किलोमिटर मात्रै कालोपत्र हुने गरेकामा आव २०७४÷७५ मा ९४५ किलोमिटर बनाएको र अहिले ९८८ किलोमिटर बनाउने योजना रहेकामा असारसम्ममा एक हजार किलोमिटर कालोपत्र भइसकेको उनले बताए ।
रेल्वे फागुन ७ गते सञ्चालन गर्ने सोच बनाइसकेको जानकारी गराउँदै नयाँ मन्त्रीले त्यो काम अघि बढाउने विश्वास व्यक्त गरे । पानीजहाजमा पनि नयाँ फड्को मार्ने क्रममा रहेको वताउँदै महासेठले भौतिक मन्त्रालयले यो वर्ष काठमाडौँ उपत्यकालाई केन्द्रित गरेर कार्यक्रम अघि बढाएको जानकारी दिएका छन् ।

























