काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । प्रधानमन्त्री ओलीले केही मन्त्रीलाई हटाएका छन् भने केहीलाई नयाँ नियुक्त गरेका छन् र केहीको जिम्मेवारी हेरफेर गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार विहान मन्त्रीहरुलाई सपथग्रहण गराउने कार्यक्रम रहेको बताइएको छ ।
भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, संघीय मामिलामन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापा, कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषिराज्यमन्त्री रामकुमारी चौधरीलाई हटाइएको छ ।
उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय खोसेर नेकपा नेता भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्री बनाइएको छ भने उपेन्द्र यादव कानुनमन्त्री बनाइएको छ । यादव हाल भारत भ्रमणमा छन् ।
प्रधानमन्त्री ओलीले बसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी, पार्वत गुरुङ, मोती दुगड, लेखराज भट्ट र रामेश्वर राय यादव मन्त्री भएका छन् ।
नेम्वाङलाई भौतिक पुर्वाधार तथा यातायात, भुसाल कृषि तथा पशुपन्क्षी मन्त्री भएका छन् भने त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्नेछन् ।
भट्ट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बनेका छ । उद्योगपति दुगडलाई उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनाइएको छ । राय श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बनेका छ । गुरुङ महिला वालवालिका तथा जेष्ठ नागरिक मन्त्री बनेका छन् । त्यस्तै नवराज रावत स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेका छन् भने रामबीर मानन्धर सहरी विकास राज्यमन्त्री बनेका छन् ।
उपप्रधान तथा ईश्वर पोखरेल, गृहमन्त्री रामवहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई, सञ्चारमन्त्री गोकुल बस्कोटा र पर्यटनमन्त्री योगेश भट्टराईको जिम्मेवारी यथावत छ ।



























