काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सरकार र प्रधानमन्त्रीका गतिविधिलाई पारदर्शी ढङ्गले सूचना प्रवाह गर्ने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रधानमन्त्रीका कामलाई पारदर्शी ढङ्गले सञ्चारमाध्यममार्फत जनतासँग पु¥याउन आफूले सक्दो प्रयास गर्ने प्रेस सल्लाहकार थापाले प्रतिवद्धता जनाएका छन् ।
आजैदेखि सल्लाहकारको कार्य थालनी गरेका थापाले सूचना प्रवाह गर्न मिल्ने सूचनालाई लुकाएर नराख्ने बताएका छन् । सल्लाहकार थापाले प्रधानमन्त्रीसँग सम्बन्धित कुराको प्रेस विज्ञप्तिमार्फत सञ्चारमाध्यमलाई जानकारी गराउने समेत बताए । अहिले सञ्चारमाध्यममा अतिरन्जित र गलत समाचार आउने समस्या रहेको भन्दै थापाले त्यस्ता समाचारलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिएका छन् ।
सल्लाहकार थापाले सरकारका राम्रो कामको सम्प्रेषण नभएको भन्दै मन्त्रालयगत रुपमा एकीकृत ढङ्गले सबै मन्त्रालयका गतिविधिलाई सम्प्रेषणसमेत गरिने जानकारी गराए । उनले सरकारले राम्रो काम गर्दा स्यावासी र गलत काम गर्दा खबरदारी गर्न समेत सञ्चारकर्मीहरुलाई आग्रह गरे ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रधानमन्त्री ओलीको प्रेस सल्लाहाकारमा नियुक्त गरेको थियो । उनलाई सरकारले राज्यमन्त्रीसरहको सुविधा प्रदान गरेको छ । यसअघि तत्कालीन प्रधानमन्त्री झलनाथ खनालको प्रेस सल्लाहकारको रूपमा काम गरेका थापा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुखसमेत हुन । नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्य समेत भएका थापा नवयुग र बुधबार साप्ताहिकमा सम्पादकका रुपमा भूमिका निर्वाह गरिसकेको व्यक्ति हुन् ।























