काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीबाट भारतीय सेना फिर्ता लैजान भारतलाई आग्रह गर्नु भएको छ । नेकपाको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार आफ्नो अतिक्रमित भूमि फिर्ता लिन सक्षम रहेको बताउनुभयो ।
आफ्नो एक इन्च भूमि पनि कसैलाई मिच्न नदिने र अरुको जमिन पनि आफूहरुलाई नचाहिने बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो ‘हामी आफ्नो भूमि एक इन्च पनि मिच्न दिदैनौ । अरुको जमिन चाहिदैन । हाम्रो जमिनबाट सेना फिर्ता लैजानुस् ।’
प्रधानमन्त्री ओलीले यसअघिका शासकको कमजोरीका कारण मिचिएको भूभाग बर्तमान सरकार फिर्ता लिएरै छोड्ने बताउनु भएको छ । प्रमुख विपक्षी नेपाली कांग्रेसले कालापानीबारे प्रधानमन्त्री किन बोल्दैनन् भन्ने प्रश्न गरिरहेका बेला ओलीले यही सरकारले बिदेशी फौज फिर्ता गराउने र मिचिएको भूमि फिर्ता लिने प्रष्ट पार्नुभएको छ ।
एक केही वर्ष अघिसम्म राष्ट्रियताको पक्षमा सरकार हुनु भनेको मृगतृष्णा हुन्थ्यो भन्दै प्रधानमन्त्री ओलीले अहिले नेपाल त्यो अवस्थामा नरहेको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले नेपालको कुरा अहिले अन्तर्राष्ट्रिय मञ्चहरुमा सुनिन थालेको बताउँदै राष्ट्रियताको पक्षमा सरकार दृढ उभिएकै कारण नेपालको गरिमा बढेको बताउनुभयो ।