भक्तपुर । मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि भक्तपुर क्षेत्र नं १ प्रदेश नं १ (क) का प्रदेशसभा सदस्यका उम्मेदवार कृष्णलाल भँडेललाई मातृशोक परेको छ । नेपाली काँग्रेसबाट उम्मेदवार बनेका भँडेलकी आमा सेतीमायाको आज बिहान ८६ वर्षको उमेरमा मध्यपुर अस्पतालमा निधन भएको हो ।
उच्च रक्तचाप भएपछि तीन दिनअघि अस्पताल भर्ना भएकी थिइन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । नेपाली काँग्रेसले घरदैलो र चुनावीसभा तीव्र पारेको बेलामा उम्मेदवार भँडेललाई मातृशोक परेको हो । काँग्रेसले आजको बागेश्वरीका लागि तय गरिएको चुनावसभा स्थगित गरेको छ भने अर्को सूचना जारी नभएसम्मका लागि घरदैलो र चुनावीसभालाई स्थगन गरेको बताइएको छ ।
यसैबीच काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सेतीमायाँ भँडेलको निधनप्रति दुःख व्यक्त गरेका छन् । सभापति देउवाले उनको निधनको खबरले अत्यन्तै दुःख लागेको उल्लेख गर्दै स्व. सेतीमायाँ भँडेलप्रति श्रद्धाञ्जलि र शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।