काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणाम चारदिने सद्भावना भ्रमणका लागि मंगलबार नेपाल आएका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज उच्चस्तरीय भेटवार्ता गर्दैछन् । अपराह्न ४ बजे राष्ट्रपति हमिदले समकक्षी विद्यादेवी भण्डारीसँग शितल निवासमा हुने शिष्टाचार भेटमा आपसी हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यस्तै बिहान १०ः५० बजे राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, ११ः१० बजे नेकपा अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका हमिदले २ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति हमिद बसेकै होटल म्यारियटमा भेटवार्ताको समय मिलाइयो ।
यसैगरी बुधबार दिउँसो २ः४० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले र सवा ३ बजे उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले राष्ट्रपति हमिदसँग भेटवार्ता गर्ने समय निर्धारण गरिएको बताइएको छ ।
राष्ट्रपति हमिदको सम्मानमा राष्ट्रपति भण्डारीले दरबारमार्गस्थित होटल याक एण्ड यतीमा साँझ साढे ६ बजे रात्रिभोज आयोजना गर्नुहुने भएको छ ।
हिजै भक्तपुरको निरीक्षण भ्रमण गरेका राष्ट्रपति हमिद भोलि हेलिकप्टरबाट पोखरा जाने कार्यक्रम रहेको बताइएको छ । काठमाडौंबाट १ बजे पोखरा प्रस्थान गर्ने हमिद सोही दिन साढे चार बजे काठमाडौं फर्किने कार्यक्रम छ । शुक्रबार बिहान ११ बजे चन्द्रागिरि र दिउँसो १ बजे पाटन दरबार स्क्वायर अवलोकन गरेर ५ बजे स्वदेश फर्किने कार्यक्रम रहेको बताइएको छ ।
राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले स्वागत गरेका थिए भने विमानस्थलकै अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीले स्वागत गर्नु भएको थियो । बिदाइ गर्न पनि राष्ट्रपति भण्डारी नै जाने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपालको पूर्वी सिमाना झापाबाट करिव १८ किलोमिटर टाढा पर्ने बंगलादेश नेपालसँग हवाई मार्गले जोडिदै जानुपर्ने बंगलादेशले महुसस गरेको देखिन्छ । काठमाडौं ढाका उडान भएपनि पूर्वी नेपालको विभिन्न शहरमार्फत वंगलादेशको सिमान्त क्षेत्रमा पर्ने भूभागबाट पर्यटक लगायतका विभिन्न व्यक्तिलाई आवतजावत गर्न सहज होस् भन्ने उद्देश्यले नेपाल र वंगलादेशबीच हवाई सम्झौता हुन लागेकोे बताइएको छ ।
सन् १९८७ मा नेपालमा भएको तेस्रो सार्क शिखर सम्मेलनमा बंगलादेशका राष्ट्रपति हुसेन महम्मद अर्सदले नेपालको भ्रमण गरेका थिए भने झण्डै तीन दशकपछि बंगलादेशका राष्ट्रपतिले नेपाल भ्रमण गर्न लागेकाले यसलाई महत्वपूर्ण मानिएको छ ।
राजा वीरेन्द्रको निम्तोमा अर्सदले नेपालको भ्रमण गरेका थिए भने साहित्यकार समेत रहेका उनले नेपालको प्रकृतिबाट प्रभावित भएर केही कविता समेत लेखेका थिए । सार्क र विमस्टेकमा बंगलादेश सदस्य भएकाले नेपालसँग धेरै विषयमा कूटनीतिक तादाम्य देखिन्छ ।
बंगलादेशसँग सहकार्य गरेर अघि बढ्न सक्ने कूटनीतिज्ञहरुको तर्क छ भने दक्षिण एसियामा समुन्द्री मार्ग प्रयोग गर्न भारतले अनुमति दिएको खण्डमा झापाबाट सवैभन्दा नजिकको समुन्द्रि क्षेत्र बंगलादेश नै प्रयोग गर्न सकिने विज्ञहरुको सुझाव छ ।
बंगलादेशका राष्ट्रपतिको भ्रमणमा आर्थिक सहकार्यमा मात्र केन्द्रित हुने बताइएको छ भने ऊर्जा, पर्यटन, पारवहनलगायतका क्षेत्रमा सो राष्ट्रलाई नेपालसँग सहकार्य गर्न खोजेको देखिन्छ ।