काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले नेपाल–भारत सीमाका विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको छ । “सीमाका विषयमा नेपाल सरकारले स्पष्ट गरिसकेको छ, यस विषयमा नेपालको नयाँदिल्लीस्थित राजदूतावासमार्फत भारतीय सरकारको ध्यानाकर्षणसमेत गराइसकिएको छ”, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकपछि सञ्चारकर्मीका जिज्ञासामा उनले नेकपाले नेपाल–भारत सीमा विषयलाई गम्भीरतापूर्वक लिएको बताए । परराष्ट्र मन्त्रालयले यही कात्तिक २० गते विज्ञप्ति प्रकाशित गर्दै कालापानी क्षेत्र नेपालको भूभाग भएको स्पष्ट पारेको थियो ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिमण्डलका सदस्य तथा आफ्ना सचिवालयमा कार्यरत विज्ञ सल्लाहकारको पुनरगठन गर्ने विषयमा बैठकले केही निर्णय ग¥यो ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा प्रवक्ता श्रेष्ठले भन्नुभयो, “यस विषयले बैठकमा प्रवेश पाएको छैन, यो प्रधानमन्त्रीको आफ्ना कुरा हुन् ।”
आयोगको नेतृत्व कसले पाए ?
सचिवालय बैठकले पार्टीको निर्वाचन आयोग, अनुशासन आयोग, लेखा परीक्षण आयोग, जेष्ठ कम्युनिस्ट मञ्ज, राष्ट्रिय परिषद र केन्द्रीय सल्लाहकार परिषदको नेतृत्व चयन गरेको हो ।
केन्द्रिय अनुशासन आयोगको अध्यक्षमा अमृत बोहोरा, सचिवमा अशोक रोकाय, केन्द्रिय निर्वाचन आयोगको अध्यक्षमा विष्णु पुकार श्रेष्ठ, सचिवमा माधव पौडेल, लेखापरिक्षण आयोगको अध्यक्षमा पुष्प कडेँल, सचिवमा टेकनाथ आचार्य, केन्द्रिय सल्लाहकार समितिको अध्यक्षमा केशव बडाँल, सचिवमा नन्द कुमार थापा,ज्येष्ट कम्युनिष्ट मञ्चको अध्यक्षमा नन्दकुमार प्रसाई सचिवमा गोविन्द्र ज्ञवाली चयन हुनुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
त्यस्तै प्रवास संगठन जिम्मेवारीका बारेमा पनि छलफल भइरहेको उनले बताए । प्रवासमा पार्टी कमिटि निमार्ण नगर्ने निर्णय यसअघि नै भै सकेकाले उनीहरुको हकहितका निम्ती जागरुक बनाउने र नेपालको विकास प्रक्रियामा समेत सामेल गर्न कसरी जोडिने भन्नेमा छलफल गरेर त्यसलाई पनि अन्तिम रुप दिएपछि सांगठनिक एकताको काम पुरा हुने प्रवक्ता श्रेष्ठको भनाइ छ ।
पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको उक्त बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णुप्रसाद पौडेलसहित सचिवालय सदस्यहरु पूर्वप्रधानमन्त्री झलनाथ खनाल, माधवकुमार नेपाल, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, बामदेव गौतम र प्रवक्ता श्रेष्ठ सहभागी थिए ।




















