काठमाडौँ । नेपालको लोकतान्त्रिक आन्दोलनका अथक योद्धा, सर्वोच्च नेता एवम् लौहपुरुष गणेशमान सिंहको १०५औँ जन्मजयन्ती नेपाली कांग्रेसले विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइरहेको छ ।
काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक आन्दोलनका अथक योद्धा गणेशमान सिंहको योगदानलाई बिर्सन नसकिने बताएका छन् । सभापति देउवाले विज्ञप्ति जारी गर्दै सिंहप्रति श्रद्धासुमन व्यक्त गरेका छन् । राष्ट्रिय राजनीतिमा लौहपुरुषका रुपमा परिचित एवम अन्तर्राष्ट्रिय राजनीतिक क्षेत्रमा समेत प्रभावशाली नेताका रुपमा स्थापित स्व सिंहको त्याग र निष्ठाको भावी पुस्ताले सम्मान गर्ने विज्ञप्तिमा भनिएको छ ।
सभापति देउवाद्वारा जारी विज्ञप्तिमा भनिएको छ “पार्टीका अमूल्य निधि एवं धरोहर सिंहको लामो कठिन र सङ्घर्षशील राजनीतिक जीवनका विविध पक्ष तथा उहाँले मुलुकका लागि पु¥याउनु भएको योगदानलाई आज उहाँको जन्मदिनका अवसरमा स्मरण गर्दै उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु ।”
सर्वोच्च नेता सिंहको जन्म १९७१ कात्तिक २४ गते काठमाडौँको चाक्सीबारीमा भएको थियो । उनको जन्मजयन्तीका अवसरमा पार्टी, भ्रातृ एवम शुभेच्छुक संस्थाले आज विविध कार्यक्रम आयोजना गरेका छन् ।
गणेशमान सिंह तथा जनआन्दोलन शहिद स्मृति प्रतिष्ठानले शान्ति वाटिका आयोजना गरेको कार्यक्रममा कांग्रेसका नेता एवम् पूर्वमन्त्री तीर्थमान डंगोलले गणेशमान सिंहजस्ता राजनेताहरुको स्मृति दिवस सरकार आफैंले मनाउनुपर्ने बताए । बीपी कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइरालाजस्ता नेताहरुलाई स्मरण गरेर अघि बढे मुलुकले राम्रो दिशा पाउने समेत उनले बताए ।
वामपन्थीहरुसँग सहकार्य गरेर २०४६ सालको जनआन्दोलन सफल बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरेका गणेशमान सिंहलाई कम्युनिष्ट नेतृत्वको वर्तमान सरकारले बेवास्ता गरेको भन्दै उनले असन्तुष्टिसमेत जनाएका छन् ।
सो कार्यक्रममा कांग्रेस नेताहरु ध्यानगोविन्द रञ्जित, भिमसेनदास प्रधान, सबुज बानियाँलगायतले गणेशमान सिंहको निःश्वार्थ र समर्पणभावअनुसार नेताहरु अघि बढे मुलुकले राम्रो दिशा पाउने धारणा राखेका छन् ।
























