काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयका सबै सदस्यहरुले राजीनामा दिने तयारी गरेका छन् । प्रधानमन्त्री ओलीले सचिवालयका सदस्यहरु परिवर्तन गर्न चाहेको संकेत पाएपछि मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, प्रेस सल्लाहकार कुन्दन अर्याल, सूचना प्रविधि सल्लाहकार अस्गर अली, प्रेस संयोजक चेतन अधिकारी, रामशरण बजगाई, रमेश भट्टराई, दिपेन दाहालसहित सबैले मंसिर १ गतेबाट लागू हुने गरी राजीनामा दिएका छन् ।
प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले शुक्रबार सल्लाहकार र विज्ञहरुको टीमको वैठक गरेर प्रधानमन्त्रीलाई सघाउन सबैले आ–आफ्नो जिम्मेवारीबाट राजीनामा दिनु उपयुक्त हुने प्रस्ताव राखेपछि सबैले राजीनामा दिने निर्णय भएको वालुवाटार स्रोतले बताएको छ ।
प्रधानमन्त्रीको सचिवालयमा हुने हेरफेरलाई मन्त्रिपरिषद् पुनर्गठनको तयारीका रुपमा पनि हेरिएको छ । मन्त्रिपरिषद् पुनर्गठन गर्ने चर्चा महिनौअघिदेखि चल्दै आएको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालसँग पनि मन्त्रिपरिषद् पुनर्गठनबारे छलफल गरेको बुझिएको छ । नेकपा स्रोत भन्छ “उपनिर्वाचिनपछि मन्त्रिपरिषद पुनर्गठनको सम्भावना छ, प्रधानमन्त्रीको सचिवालयका सदस्यहरुको राजीनामा त्यसकै पूर्वतयारी हो ।”
मन्त्रीहरुलाई एकएक गरेर हटाउँदा नराम्रो सन्देश जाने भएकाले सचिवालय सदस्यहरुले झै मन्त्रीहरुले पनि सामुहिक राजीनामा दिए हुन्थ्यो भन्ने अपेक्षा प्रधानमन्त्रीको रहेको नेकपा स्रोत बताउँछ । मन्त्रीहरुको कार्यप्रगति विवरण अध्ययन गरिरहेका प्रधानमन्त्रीले कसकसलाई हटाउने भन्ने तय गरिसकेका छन् । तर सामुहिक राजीनामा दिएर मन्त्रिपरिषद् गठनको मार्गप्रशस्त गरिदिए राम्रो काम गरिरहेका मन्त्रीहरुलाई पुनः नियुक्ति गर्ने मनस्थितिमा प्रम ओली रहेको नेकपा स्रोतले बताएको छ ।
सचिवालयका सदस्यहरुको राजीनामाले मन्त्रीहरुलाई पनि नैतिक दबाब पुगेको देखिन्छ । मन्त्रिपरिषद पुनर्गठन गर्दा अहिलेकै धेरैजसो मन्त्री दोहोरिने र सचिवालयका सदस्यहरु पनि केही पुरानै दोहोरिने नेकपा स्रोतले बताएको छ ।
केही मन्त्रीहरुको जस्तै सचिवालयको कामबाट प्रधानमन्त्री सन्तुष्ट छैनन् । सचिवालयप्रति नेकपा र विशेष गरी ओली निकट कतिपय व्यक्ति नै असन्तुष्टि थिए । प्रधानमन्त्रीलाई उनीहरुले गलत ब्रिफिङ गरेको आरोप लाग्दै आएको छ । सचिवलयका कतिपय व्यक्तिकै कारण प्रधानमन्त्री विवादमा पर्ने गरेको चर्चा पनि चल्दै आएको छ । प्रधानमन्त्री ओलीका विश्वासपात्रहरुलाई समेत भेट्नबाट रोक्ने, गलत व्रिफिङ गर्ने, जनताको माग र आक्रोशलाई प्रधानमन्त्रीसम्म नपुर्याउने, निजी स्वार्थका लागि शक्तिको दुरुपयोग गर्ने जस्ता कार्य गरेको भन्दै सचिवालयका कतिपय सदस्यहरुको काम सही नभएको गुनासो प्रधानमन्त्री समक्ष नेकपाका नेताहरुले राख्दै आएका थिए ।
























