भक्तपुर । मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ प्रदेश (क) मा प्रदेशसभा सदस्यका लागि हुने उपनिर्वाचनका लागि ११ वटा दल र १० स्वतन्त्रसहित २१ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय भक्तपुरले जनाएको छ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट देवीप्रसाद (डिपी) ढकालले उम्मेदवारी दर्ता गराएका छन् । नेकपा सचिवालय सदस्य वामदेव गौतम, स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्य, सांसद महेश बस्नेत, प्रदेशसभासद्त्रय रामेश्वर फुयाँल, शशीजंग थापा र डा राजेन्द्रमान श्रेष्ठ, नेत्री सरस्वती वाटी, नेकपा जिल्ला अध्यक्ष वचन देउजा लगायतको नेतृत्वमा कमलविनायकबाट बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएको छ ।
त्यसैगरी नेपाली काङ्ग्रेसबाट कृष्णलाल भँडेलले उम्मेदवारी दिएका छन् । पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यद्वय मोहनबहादुर बस्नेत, रमा पौडेल, जिल्ला सभापति दुर्लभ थापा लगायत सहभागी बाजागाजासहितको टोली कमलविनायकबाट निर्वाचन अधिकृतको कार्यालय पुगेर कांग्रेसका पूर्वक्षेत्रीय सभापति समेत रहेका भँडेलले उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यस्तै नेपाल मजदूर किसान पार्टीबाट निरज लवजुले उम्मेदवारी दर्ता गराएका हुन् । सो पार्टीका सांसद प्रेम सुवाल, प्रदेश सदस्य सुरेन्द्रराज गोसाइँ लगायतको टोली लवजुले उम्मेदवारी दर्ता गराएको हो ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)बाट रामशरण लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट श्यामप्रसाद नेपाल, साझा पार्टीबाट सुरज प्रधान, समाजवादी पार्टीबाट सुदर्शनकुमार मुनकर्मी, नेकपा मालेबाट सुदर्शन लामिछाने, नेपाली काङ्ग्रेस (बिपी) बाट मधुसुदन न्यौपाने, आमूल परिवर्तन मसिहा पार्टीबाट डिल्लीप्रसाद चौलागाईं, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट मिङ्मार लामाले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरी स्वतन्त्रबाट कृष्णप्रसाद ह्यामो, कृष्णराम पोतामाहा, जीवन नेपाली, अर्जुन कोजु, राकेश सुवाल, उत्तम शाखकर्मी, सुमना कार्की, जीवनचन्द्र अधिकारी, सुजाता देउजा, सङ्गीता पौडेल आचार्यले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
२०७४ मा भएको निर्वाचनमा तत्कालीन एमालेबाट निर्वाचित हरिशरण लामिछानेको मष्तिस्काघातका कारण निधन भएपछि सो स्थान रिक्त थियो ।