काठमाडौँ । नेपाल सरकारले कालापानी क्षेत्र नेपालको भूभाग भएको स्पष्ट गरेको छ । भारत सरकारले हालै प्रकाशन गरेको नयाँ राजनीतिक नक्शालाई लिएर नेपालको कालापानी क्षेत्र सम्बन्धमा प्रकाशित विभिन्न समाचार एवं टिप्पणीप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको जनाउँदै परराष्ट्र मन्त्रालयले कालापानी क्षेत्र नेपालको भूभाग भएको स्पष्ट गरेको हो ।
नेपाल तथा भारतका परराष्ट्रमन्त्रिस्तरीय संयुक्त आयोगका बैठकबाट दुई देशबीचका समाधान हुन बाँकी सीमासम्बन्धी समस्याको समाधानका लागि प्राविधिकहरूको सल्लाहमा दुवै देशका परराष्ट्र सचिवले काम गर्ने गरी जिम्मेवारी दिइएको बताउँदै मन्त्रालयले केहीबेरअघि जारी गरेको प्रेस विज्ञप्तिमा “दुई देश बीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयहरू दुवै पक्षको आपसी सहमतिमा टुङ्ग्याउनुपर्ने र एकपक्षीय ढङ्गबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने कुरा स्पष्ट छ,” भनिएको छ ।
नेपाल सरकार नेपालको अन्तर्राष्ट्रिय सिमाना रक्षाका लागि प्रतिबद्ध रहेको र दुई मित्र राष्ट्रबीचको सीमा समस्याको समाधान ऐतिहासिक दस्तावेज एवम् तथ्य प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट हुनुपर्ने मान्यतामा दृढ रहेको विज्ञप्तिमा स्पष्ट रुपमा उल्लेख गरिएको छ ।
अनेरास्ववियुद्वारा ‘गो ब्याक इन्डिया’ भन्दै प्रदर्शन
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले भारतले नेपाली भूमि आफ्नो नक्सामा राखेकामा विरोधमा प्रदर्शन गरेको छ । अखिलले बुधबार दिउँसो प्रदर्शनी मार्गस्थित आरआर क्याम्पसबाट निस्केको प्रदर्शन पुतलीसडक, बागबजार हुँदै रत्नपार्कमा गई सभामा परिणत भएको थियो ।
प्रदर्शनमा विद्यार्थीले नेपालको ‘गो ब्याक इन्डिया, कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो’, ‘मिचिएको हाम्रो भूमि फिर्ता गर’ ‘आफ्नो माटो, अर्काले दाब्दा किन मौन सरकार’, ‘भारतीय विस्तारवाद मुर्दावाद’ जस्ता नारा लगाएका थिए । कोणसभामा अखिलका संयोजक ऐन महरले नेपालको एक इन्च भूमि पनि भारतीय पक्षले मिच्न नपाइने भन्दै भारतीय पक्षलाई नक्सा सच्याउन माग गर्नुभयो ।
उहाँले सरकारलाई कूटनीतिक पहलबाट भारतीय नक्सामा नेपालको भूमि मिचिएका बारेमा छिटो पहल गर्न आग्रह गर्नुभयो । सभामा अखिलका सहसंयोजक रञ्जित तामाङले भारत छिमेकी मुलुक भए पनि पटकपटक नेपाली सीमा अतिक्रमण गर्ने गरेकाले मान्य नहुने बताउनुभयो । उहाँले नेपालको भूमि मिचिएको भारतले बनाएको नक्सा सच्याउनुपर्ने माग गर्नुभयो ।