नेकपाले गरयो प्रदेश प्रमुखहरुको सिफारिस
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ले सातै प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ ।
आज बसेको सचिवालय बैठकले सातवटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको हो । जसमा अमिक शेरचन –चितवन, सोमनाथ प्यासी– कास्की, तिलक परियार–बाँके,धर्मनाथ यादव–सिरहा, बिष्णु प्रसाईं– झापा,गोविन्द कलौनी–डडेल्धुरा,शर्मिला त्रिपाठि– काठमाडौ रहेका छन् ।
शेरचन पुराना वामपन्थी नेता हुन् । तत्कालीन माओवादी केन्द्रसँग एकता हुनुअघि उनी जनमोर्चाको अध्यक्ष थिए । २०६४ सालको निर्वाचनमा चितवन– ५ बाट विजयी भएका शेरचन उपप्रधान एवं स्वास्थ्य मन्त्री भइसकेको व्यक्ति हुन् ।
रोल्पामा जन्मिएका परियार २०६४ सालको निर्वाचनमा माओवादीबाट बाँके १ मा सभासदमा निर्वाचित भएका थिए । दलित राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष समेत रहेका थिए । मोहन वैद्यसँगै तत्कालीन एकीकृत नेकपा माओवादीबाट अलग्गिएका परिवार रामबहादुर थापा बादलसँगै माओवादी केन्द्रमा फर्किएका थिए ।
त्यस्तै सोमनाथ अधिकारी प्यासी कास्कीका पुराना वामपन्थी नेता हुन् । कास्कीबाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए । पछिल्लोपटक नेकपा प्रदेश कमिटिले उनको नाम कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका लागि सिफारिस समेत गरेको थियो ।
धर्मनाथ यादव लामो समय शिक्षण पेशा रहेर २०४८ सालको चुनावमा नेकपा एमालेको तर्फबाट उम्मेदवार बनेका थिए । नेकपाका सादगी नेता मध्येमा उनी पर्छन् । २०७३ सालमा नेकपा एमालेले गरेको पूर्व पश्चिम जागरण अभियानको क्रममा झापामा स्थायी समितिको बैठक राखेर यादवलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको थियो ।
गोविन्दप्रसाद कलौनी पनि पुराना वामपन्थी नेता हुन् । सुदूरपश्चिममा तत्कालीन एमालेका चर्चित नेता कलौनी हालसम्म अवसरबाट भने वञ्चित हुँदै आएका थिए । २०५१ सालको मध्यावधि निर्वाचनमा डडेल्धुराबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार थिए भने २०५६ सालमा बैतडी र २०६४ सालको संविधान सभा सदस्य निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार रहेका थिए । तर उनी विजय भने हुन सकेका छैनन् ।
झापा आन्दोलनसँग जोडिएका विष्णुप्रसाद प्रसाईं पुराना कम्युनिष्ट नेता हुन् । नेकपाको प्रदेश कमिटीमा रहेका प्रसाई २०४९ को निर्वाचनपछि झापा जिविस उपसभापति बनेका थिए ।
त्यस्तै शर्मिला त्रिपाठी पूर्व माओवादी पृष्ठभूमिकी नेतृ हुन् । तत्कालीन माओवादीका बेपत्ता योद्धा ज्ञानेन्द्र त्रिपाठीकी पत्नी शर्मिला प्रदेश प्रमुखमा सिफारिस भएकी एक मात्र महिला हुन् ।
सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेपछि उनीहरु नियुक्त हुने छन् । कसलाई कुन प्रदेशको जिम्मेवारी दिने भन्ने सार्वजनिक गरिएको छैन ।