गोरखा, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले देशको अन्तर्राष्ट्रियस्तरमा साख बढाउन मद्दत पु¥याएको बताउनुभएको छ । समाजवादी पार्टी नेपालका अध्यक्षसमेत रहनुभएका उहाँले गोरखा सदरमुकाममा आज आयोजित पत्रकार भेटघाटमा भन्नुभयो, “विश्वशक्ति राष्ट्र बन्ने दिशामा गएको छिमेकी देशका प्रमुख नेता आउँदा देशको अन्तर्राष्ट्रियस्तरमा साख बढाउन मद्दत पुगेकोे छ यो सकारात्मक र महत्वपूर्ण कुरा हो ।”
नेपालले दुवै देशबीच सन्तुलन कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयोे, “हामी दुवै देशबीच समान सम्बन्ध राखेर अघि जान सकिन्छ भन्ने मान्यता राख्छौँ र राष्ट्रपति सीको भर्खरै सम्पन्न भ्रमणले पनि यही सन्देश दिन्छ ।” अर्को फरक प्रसङ्गमा डा भटृराईले लोकतन्त्रका कारण पछिल्लो समय अपराध लुक्न नसकेको बताउनुभयो । सांसद विभिन्न आपराधिक घटनामा संलग्न भएको भन्ने आरोपमा धमाधम पक्राउ पर्नु लोकतन्त्रको उपलब्धि भएको उहाँको भनाइ थियो । “साधारण नागरिक मात्र होइन गलत कार्य गर्ने जोसुकैलाई पनि कानूनबमोजिम कारवाही हुन्छ भन्ने सन्देश गएको छ, यो अत्यन्तै सकारात्मक पाटो हो”, पूर्व प्रधानमन्त्री डा भटृराइले भन्नुभयो ।
रासस