काठमाडौं, बडा दशैं अन्तर्गत नवरात्रीको छैटौं दिन आज नवदुर्गाका स्वरुपहरुमध्ये कात्यायनी देवीकोे पूजाआजा गरिंदैछ ।

घटस्थापना गरेसँगै नवदुर्गाका ९ वटा रूपहरूको पूजा गर्ने धामिर्क प्रचलन छ । आज देवी दुर्गाका स्वरूपमध्ये अष्टमातृका भगवतीको छैटौं शक्तिका रूपमा प्रादुर्भाव भएकी कात्यायनी भगवतीको पूजा गरिन्छ । कात्यायिनी भगवतीको पूजा गरे रोग, शोक, भय, दुःख दरिद्रजस्ता संकट नाश हुने धार्मिक विश्वास रहेको पाइन्छ । हिन्दु धर्मशास्त्रमा उल्लेख भएबमोजिम प्राचीन युगमा कात्या नाम गरेका महर्षिका छोरा कात्यायान ऋषिको छोरीको रूपमा भगवतीले जन्म लिएको हुनाले उनको नाम कात्यायनी रहन गएको कथन देवीभागवत पुराणमा उल्लेख छ ।

नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौंथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छौटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने गरिन्छ ।

आजपनि देशभरका नवदुर्गा मन्दिर र शक्तिपीठहरुमा बिहानैबाट भक्तजनहरुको भीड लागेको छ ।

राजधानीका गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालिकास्थान, शोभाभगवती, तलेजुभवानी र विजेश्वरीमा दर्शनार्थीको भिड लागेको छ । त्यस्तै, नक्साल भगवती, भद्रकाली र इन्द्रायणी लगायतका दुर्गादेवीका शक्तिपीठहरुमा दर्शनार्थीको भिड लागेको छ ।