काठमाडौं, बडादशैंको पाँचौं दिन आज देवीको पाँचौं रुप स्कन्दमाताको पूजा गरिँदै छ । घटस्थापनासंगै नवदूर्गाका ९ वटा रुपहरुको पूजा गर्ने धार्मिक परम्परा छ ।
नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौ दिन स्कन्दमाताको पूजा गरिन्छ । यस्तै, छैटौ दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने चलन छ ।
भूमिमा रहेको वीर्यबीज शक्तिबाट स्कन्दलाई जन्म दिएकी हुनाले माता पार्वतीको यो रुपलाई स्कन्दमाता भनेर पूजा गर्ने गरिन्छ । शिवको पसिनाबाट वीर्यबीज बनेको र त्यसैबाट कार्तिकेय वा स्कन्दको जन्म भएकाले स्कन्दमातालाई कर्म र परिश्रमको प्रतिक मानिन्छ ।
आज बडादशैंको पाँचौं दिन देशभरका नवदुर्गा मन्दिर र शक्तिपीठहरुमा बिहानैबाट भक्तजनहरुको भीड लागेको छ । राजधानीका गुहेश्वरी, मैतीदेवी, दक्षिणकाली, कालिकास्थान, शोभाभगवती, तलेजुभवानी र विजेश्वरीमा दर्शनार्थीको भिड लागेको छ । त्यस्तै, नक्साल भगवती, भद्रकाली र इन्द्रायणी लगायतका दुर्गादेवीका शक्तिपीठहरुमा दर्शनार्थीको भिड लागेको छ ।