काठमाडौँ । सभामुख कृष्णबहादुर महराले सन् २०३० सम्ममा नेपालले कम आयबाट मध्यम आम्दानी हुने देशमा स्तरोन्नति गर्ने लक्ष्य राखेको बताउनुभयो । ‘ग्रेटर युरेशिया : संवाद, भरोसा, साझेदारी’ मूल नाराका साथ कजाखस्तानको अस्तानामा शुरु भएको युरेशियाली देशका सभामुखहरुको चौथो बैठकलाई सम्बोधन गर्दै सभामुख महराले लक्ष्य प्राप्तिका लागि नेपालले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणासहित अघि बढेको जानकारी दिनुभयो ।
सभामुख महराले भन्नुभयो, “नेपालले बजारमा आधारित अर्थतन्त्रको विकास गर्न, समष्टि–अर्थतन्त्रलाई स्थिरता दिन र सामाजिक–आर्थिक विकासको गति बढाउन अनुकूल राजनीतिक वातावरण सिर्जना गर्नेतर्फ ध्यान केन्द्रित गरेको छ ।”
अहिलेको विश्व अर्थव्यवस्थामा सबै विश्वव्यापी रुपमा एक अर्कासँग जोडिएको बताउँदै सभामुख महराले कोही पनि अलग रहन नसक्ने बताउँदै उहाँले भन्नुभयो, “युरोप र एशियाका देशहरूबीचको सहकार्यले विश्वलाई शान्ति, दिगोपन र आर्थिक विकासतर्फ पु¥याउने छ । ग्रेटर युरेशियाको दर्शन फराकिलो, दूरदर्शी र महत्वपूर्ण छ ।”
‘ग्रेटर युरेशियाः संवाद, भरोसा र साझेदारी’ विषयवस्तुमाथिको छलफलले युरेशियन देशहरुमा शान्तिमय, न्यायपूर्ण र समावेशी समाज निर्माण गर्न सहयोग पु¥याउने बताउँदै सभामुख महराले ‘समग्र युरेशियाले विश्वको ६५ प्रतिशत जनसङ्ख्या, ७५ प्रतिशत ऊर्जा स्रोत र ४० प्रतिशत विश्वव्यापी जिडिपीको प्रतिनिधित्व गर्दछ भन्नुभयो ।
दृढ राजनीतिक इच्छाशक्ति, प्रतिबद्धता र कार्यान्मुख दिशा नै विश्वव्यापी लक्ष्यहरू प्राप्त गर्ने मार्ग भएको चर्चा गर्दै सभामुख महराले भन्नुभयो, “जनताको प्रतिनिधिमण्डलका रूपमा संसद्ले आवश्यक कानूनहरुको निर्माण, बजेट स्वीकृति र सरकारको नीति तथा कार्यक्रमहरूको निरीक्षण गरी परिवर्तनको स्वामित्व लिन आवश्यक छ ।”
सबैको साझा एजेन्डा दिगो विकासका लक्ष्यहरुको कार्यान्वयन, गरिबी न्यूनीकरण, वातावरण संरक्षण एवं समावेशी लोकतन्त्र प्रवद्र्धन गर्ने सबैको साझा एजेन्डा भएको उहाँले बताउनुभयो ।