गलेश्वर । कुँदेर बनाइएका काठका सामग्रीको प्रयोग घट्दै गएपछि यो पेशामा लागेका व्यवसायी समस्यामा पर्न थालेका छन् । काठका भाडाकुँडा र सामग्री बनाउन प्रयोग गरिने दारलगायतका रुख बिरुवा र काठको अभाव खेपिरहेका बेला यसको प्रयोग नै घट्दै गएपछि व्यवसायी सङ्कटमा परेका हुन् ।
वर्षौंदेखि काठ कुँद्ने पेशा गर्दै आएका म्याग्दीको बेनी नगरपालिका–५ पुलाचौर चिप्लेटीका श्रीकृष्णलाल विश्वकर्माले काठ कँुद्ने पेशाबाट पलाएन हुनु पर्ने अवस्था सिर्जना भएको बताउनुभयो । १०÷१२ वर्षको उमेरदेखि बाबु बाजेले अङ्गाल्दै आएको पेशा आफूले पनि सम्हालेको बताउने विश्वकर्माले यतिञ्जेलसम्म यही पेशाबाट गुजारा चलेको भए पनि अब भने काठका सामान बिक्री हुनै छाडेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
खासगरी काठबाट ठेका बनाउन विश्वकर्मा निकै खप्पिस हुनुहुन्छ । ठेका कुद्ने कामलाई गाउँघरमा चुधाँरा पेशा भन्ने गरिन्छ । उहाँले बनाएका काठका सामग्री सदरमुकाम बेनी, गलेश्वरलगायतका ठाउँमा बिक्री हुने गरेकामा हाल आएर काठका सामानको बिक्रीमा कमी आएको छ ।
केही वर्षअघिसम्म काठका सामान बनाएर मासिक रु २५÷३० हजारसम्म आम्दानी गर्ने विश्वकर्माले पछिल्लो समय मेला पर्वजस्ता विशेष अवसरमा पनि काठका सामग्री बिक्री हुन छोडेका बताउनुभयो । अहिले मुस्किलले मासिक रु पाँच÷सात हजारमात्र कमाइ हुने गरेको बताउँदै विश्वकर्माले भन्नुभयो “प्लाष्टिकका सामग्रीले बजार लिएपछि रैथाने सामग्रीको बिक्री हुन छोड्यो, अब त दुःख पनि उठ्दैन ।”
बजारमा काठका सामानको बिक्री घट्दै जानु र गाउँघरमा यस्ता सामान बनाउने काठको अभाव हुनुले पनि परम्परागत काठका सामग्री बनाउन समस्या हुने गरेको छ । मेहनत धेरै लाग्ने र फाइदा कम हुने भएकाले पनि यो पेशा विस्थापित हुँदै गएको यस क्षेत्रका जानकारले बताएका छन् । विशेष गरेर काठका ठेका, ठेकी, मदानी, धुपौरा, चम्ठो (तेल राख्ने भाँडो), पुछै (रक्सी खाने भाडो), खुर्पेटोलगायतका सामान बनाउने गरेका विश्वकर्माले यी सामान बनाउन दारगिठो, गुराँस, भलाय र काप्राको काठ प्रयोग गर्ने गरेको बताउनुभयो । रासस