काठमाडौं, संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको आज बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्दे हुनुहुन्छ । बिहान ११ बजेका लागि बोलाईएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीले आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका साथै सरकारको कामका बारेमा बोल्नुहुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार प्रधानमन्त्रीले ११ बजे संसद बैठकको शुरु मै सम्बोधन गर्ने कार्यक्रम छ । सम्बोधनका क्रममा प्रधानमन्त्रीले समसामयिक विषयवस्तु तथा सरकारको कामका बारेमा धारणा राख्ने कार्यतालिका छ ।
त्यस्तै प्रधानमन्त्रीले सम्बोधन गरेपछि सांसदले प्रश्न गर्न पाउने व्यवस्था भएकाले सोही अनुसार सांसद र प्रधानमन्त्रीबीच प्रश्नोत्तर पनि हुनसक्ने प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

























