वीरेन्द्रनगर, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले द्वन्द्वपीडितका समस्या समाधान गर्न नसकिएको बताउनुभयो । समस्या आफूहरुलाई थाह भए तापनि विविध कारणले गर्दा समाधान गर्न चुनौती रहेको आँैल्याउनुभयो । “विगतको दिनहरु बितिहाल्यो अब आउने दिनमा कसरी अगाडि बढ्ने त्यो सोच्नुपर्दछ”, द्वन्द्वपीडितलाई सान्त्वना दिँदै शाहीले भन्नुभयो, “राज्यलाई बचाउने मान्छेलाई हामी सम्मान गर्दछौँ ।” पीडितका समस्या समाधान गर्न कर्णाली सरकार तयार रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री विमला केसीले द्वन्द्वपीडितमध्ये पनि महिलालाई समस्या रहेको बताउनुभयो । द्वन्द्वपीडितलाई आयआर्जन तथा व्यवसायमा लगाउने सरकारको योजना रहेको उहाँले बताउनुभयो । जसका लागि कर्णाली सरकारले रु नौ करोड बजेट छुट्याएको जानकारी दिनुभयो ।
द्वन्द्वपीडितसँग छलफल गरेर सो बजेटबाट कार्यक्रमको योजना बनाउने उहाँको भनाइ थियो । “सरकार बुबाआमा जस्तै हो, त्यसैले आफ्ना अधिकारका लागि माग्नु पनि पर्दछ”, केसीले भन्नुभयो, “हामी पनि तपाईंहरुलाई सहयोग गर्न तयार छाँै ।” कार्यक्रममा मानव अधिकारका लागि एकल महिला समूहका नन्दा श्रेष्ठ, शीतलसिंह राठौरलगायतले द्वन्द्वपीडितले भोग्नुपरेका समस्या राख्नुभएको थियो ।