काठमाडौं , प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले आफ्ना ८३ जिल्ला कमिटीका इन्चार्ज– सहइन्चार्जको टुंगो लगाएको छ ।
बैठकले ७७ जिल्ला कमिटी र जिल्ला कमिटीकै मान्यता पाएका ६ वटा महानगरका इन्चार्ज–सहइन्चार्जको टुंगो लगाएको हो ।
टुंङ्गिएको जिम्मेवारी अनुशार पूर्व सहमति अनुसार तत्कालीन एमालेले ४५ र तत्कालीन माओवादीले ३८ जिल्ला इन्चार्ज पाएको छ । तत्कालीन एमालेको भागमा इञ्चार्ज परेको जिल्लामा तत्कालीन माओवादीको सह–इञ्चार्ज र तत्कालीन माओवादीको इञ्चार्ज भएको जिल्लामा तत्कालीन एमालेको सह–इञ्चार्ज रहनेछन् ।
तत्कालीन एमाले र माओवादी केन्द्रका तत्कालीन इञ्चार्जहरूले नै इञ्चार्ज र सह–इञ्चार्जको जिम्मेवारी पाएका छन् । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुशार सचिवालयले टुंगो लगाएका जिल्ला इन्चार्ज–सहइन्चार्जको नाम आजै पार्टी केन्द्रीय कार्यालयबाट सार्वजनिक गरिने तयारी छ ।
नेकपाले जिल्ला ईन्चार्ज र सहईन्चार्जको जिम्मेवारी टुङ्याएसँगै मंगलबार धुम्बाराहीमा पुनः सचिवालयको बैठक बसेर विभाग, आयोग, केन्द्रीय अन्य निकायहरु र प्रवास संगठनको एकीकरणको काम टुंगो लगाउने तयारी गरेको छ ।