सर्लाही क्षेत्र नं. ३ वाट प्रत्यक्ष निर्वाचित सासंद रामेश्वर राय यादव नेपालको राजनीतिमा स्पष्ट वक्ताका रुपमा परिचित हुनुहुन्छ । राष्ट्रिय राजनीतिका साथै आफ्नो गृह जिल्लामा निकै लोकप्रिय नेताका रुपमा चिनिनुहुने सांसद यादवले यसअघि कानून तथा न्याय, माहिला तथा समाज कल्याण र वन तथा भुसंरक्षण मन्त्रालयको जिम्मेवारी कुशलतापूर्वक समाली विवादरहित मन्त्रीको रुपमा स्थापित भएका भइसक्नु भएको छ । इमान्दार र शालीन व्यक्तित्वको रुपमा जनतामाझ परिचित सांसद यादवसंग समसामयिक राजनैतीक बिषयमा गरिएको कुराकानी ।
यतिबेला वर्तमान सरकारलाई पार्टी भित्रबाटै असहयोग भएको हो ?
मलाई त्यस्तो लाग्दैन । यो सरकार सबैभन्दा शक्तीशाली र जनताले आशा र भरोसा गरेको सरकार हो । पार्टी भित्र केही असमझदारी भएको भए त्यसमा दुई अध्यक्षको एकता र इमानदारितामा नै पार्टी र सरकार बलियो हुन्छ । त्यसैले सरकारलाई सवैले साथ दिनुपर्छ यो अहिलेको आवश्यकता हो ।
त्यसो भए व्युरोक्रेसीले असहयोग गरेका छन् त ?
हाम्रो मुलुकमा विकास नहुनुमा व्युरोक्रेसीको पनि हात छ । छिटो छरितो तरिकाबाट कार्य सम्पादन गर्ने क्षमता नभएर हो या नचाहेर हो ? सरकारलाई सफल बनाउने या असफल बनाउने त्यो व्युरोक्रेसीमा पनि निर्भर रहन्छ । कर्मचारीवाट असहयोग भए सरकार असफल हुन्छ तर त्यसलाई मन्त्रीहरुले चलाउन जान्नुपर्छ । फेरि हाम्रो नियम कानूनहरुमा पनि समस्या छ । त्यसलाई पनि सहजीकरण गर्दै लैजान जरुरी छ ।
मन्त्रीहरुको कार्यशैलीप्रति तपाईको धारणा के छ ?
मन्त्रीहरु आ–आफ्नो तहबाट सकेसम्म प्रभावकारी ढंगले काम गर्न खोज्नु भएको छ, तर कर्मचारी तन्त्रको भुमरीमा पर्नु भएको हो की जस्तो लाग्छ ? केही मन्त्रीहरु सफल नै देखिनु हुन्छ भने केहीले आशातीत काम गर्न सक्नु भएको छैन ।
मन्त्रीमण्डल पुर्नगठन हुँदा तपाई पनि मन्त्रीको आकांक्षी हो ?
एउटा निर्वाचित सांसदले मन्त्रीको चाहना राख्नु स्वभाविक नै हो । फेरि म मन्त्री भईसकेको विवादरहीत मान्छे हुँ । मन्त्री पदको अनुभव पनि छ । प्रधानमन्त्री एवंम पाटी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दाहालले मेरो आवश्यकता देख्नुभयो भने सिङ्गो २ नम्बर प्रदेशबाट नेत्रृत्व गर्न सक्छु । दिएको जिम्मेवारी इमान्दारिता साथ निर्वाह गर्छु ।
अहिले विभिन्न विषयमा सरकारको विरोध भइरहेको छ नि ?
लोकतन्त्रमा विरोध गर्न पाईन्छ तर विरोधको नाममा विरोध नगरौँ । सरकारले राम्रो काम गरेको छ ती कुराहरुलाई चाहिँ नदेख्ने अनि एकाध गल्ती कमजोरी भए भने त्यसलाई विरोध गर्ने ? त्यसैले विरोधको म कुनै अर्थ र औचित्य देख्दिन् ।
पार्टीको एकीकरण प्रक्रिया कहिले टुङ्खिएला ?
पार्टीको एकीकरण प्रक्रिया टुङ्गिसकेको छ र सार्वजनिक हुने तयारीमा छ । त्यसैको लागि दुई अध्यक्ष रातदिन लागि रहनुभएको छ, अब मलाई लाग्छ हाई कमाण्ड र स्थायी ममिटीको बैठक बसेर चाडैं टुङ्गिन्छ । पार्टीको नेता तथा कार्यकर्ता पार्टीको काममा आ–आफ्नो जिम्मेवारी अनुसार खटिन्छन् । त्यस पछि विरोधीहरुको मुख बन्द हुन्छ र सिङ्गो पार्टी सरकारलाई सहयोग गरेर देश विकासमा जुट्छ ।
नेपालमा विदेशी चलखेल धेरै भयो नि ?
विदेशी चलखेल यहाँ मात्रै होईन संसार भरी हुन्छ । तर तिनिहरुको कुरा सुन्ने की नसुन्ने भन्ने चाहिँ महत्वपूर्ण हुन्छ । सल्लाह सबैको लिनु तर निर्णय आफै गर्नु भन्छन् त्यही भएर हो । हामी दुई शक्तिशाली देशहरुको बीचमा छौं । त्यसैले हामी सजक र सचेत भएर अगाडि बढ्नु पर्दछ । र राजनीतिक दल एक भएर हिडे कसैको चलखेलले केही गर्दैन त्यसबाट आत्तिनु पर्दैन । आफ्नो थैलो दह्रो बनाएर हिड्ने कसैलाई चोर नलाउने । हाम्रो देश हामीले नै बनाउने हो, विदेशीले होईन ।
२०७५/०७६ को बजेट प्रति तपाईको धारणा ?
समग्रमा बजेट राम्रो छ, तर हाम्रो देशमा अहिलेसम्म बजेट कार्यान्वयन एकदमै फितलो छ, त्यसलाई चिर्न सके निष्पक्ष, पारदर्शी र प्रभावकारी ढंगले समयमा नै विकास बजेट खर्च गर्न सके चाँडै मुलुक विकासको बाटोमा लम्कीन्छ । त्यसप्रति सवैजना जिम्मेवार हुनुपर्छ ।
अहिलेको विषादि तरकारी चेकजाचको सम्वन्धमा के भन्नुहुन्छ ?
विषदी तरकारी चेकजाँचको थालनी गर्नु आफैमा एउटा स्वागतयोग्य कार्य हो । तर अरु सरकारका पालामा त त्यो प्रक्रिया पनि शुरुवात भएको थिएन अघिल्ला सरकारले चाँहि अमृत नै खुवाए जस्तो गरी विरोध गर्नु कति सान्दर्भिक छ । हामी किन पछाडि प¥यौ, हाम्रो चेतनाको स्तर कहाँ छ ? तरकारी चेकजाँचले हामी सचेत भयौँ र हामी तरकारी तथा फलफुलमा आत्मनिर्भर हुुदैँ विदेशी तरकारी तथा फलफुललाई निरुत्साही गदै जानुपर्दछ । यसले यही सन्देश दिन खोजेको हो । जे कुरालाई पनि सकारात्मक रुपमा टिप्पणी गर्नु पर्दछ । विरोधको नाममा विरोध नगरौँ ।