काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले नेता–कार्यकर्ताहरुले पार्टी र सरकारका निर्णय सिपाहीले झैं रक्षा गर्नुपर्ने बताउनुभएको छ । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) संसदीय दलको बैठकलाई आज बानेश्वरमा सम्बोधन गर्दै प्रधानमन्त्री एवं संसदीय दलका नेता ओलीले पार्टी कार्यकर्ताहरुले पार्टीका नीति नियम र अनुशासनलाई ख्याल गर्न सुझाउनु भएको छ ।
‘पार्टीको नेता कार्यकर्ताले पार्टीका नीति निर्णय पालना गर्नुपर्दछ । असहमति बाहिर होइन, संसदीय दल र पार्टीका बैठकमा राख्नु पर्दछ’, प्रधानमन्त्री ओलीले भन्नुभयो–‘पार्टी भित्र कटुतापूर्ण सम्बन्ध हुनु आवश्यक छैन । हामी सबै एउटै डुंगामाा सवार छौं । यो कुरा सबैले मनन् गर्नुपर्दछ ।’ प्रधानमन्त्री ओलीले पार्टी नेतृत्व र सरकारको नेतृत्वको आलोचनाको बिषय हुन सक्ने तर त्यसलाई उचित ठाउँमा व्यक्त गर्नुपर्ने बताउनुभएको छ । आइफा अवार्ड नेपाललाई घाटा हुने गरी नहुने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘कतिपय देशहरुले आइफा अवार्डबाट पर्यटनको राम्रो विकास गरेका छन् ।’ प्रधानमन्त्री ओलीले भन्नुभयो,– ‘हामीले गर्न खोजेको त्यही हो । यसबाट हामीलाई लाभ हुन्छ । देशका निम्ती हितकर भयो भने उसको आयोजना गर्ने भनिएको हो ।’

बैठकमा प्रधानमन्त्री ओलीले संसदहरुले राखेका सुझाव, आलोचना तथा प्रस्तावहरुलाई सम्मानपूर्वक ग्रहण गरिएको बताउनुभएको छ । आजको बैठकमा २२ जना सांसदहरुले आफ्ना भनाइ राख्नु भएको थियो ।

























