काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीको वातावरण भएको भन्दै लगानी बढाउन आग्रह गर्नुभएको छ ।
बिहिबार प्रधानमन्त्री निबास बालुवाटारमा विभिन्न देशका अवैतनिक राजदूतसंग छलफल गर्दै प्रधानमन्त्री ओलीले लगानी बढाउन आग्रह गर्नुभएको हो । छलफलका क्रममा प्रधानमन्त्री ओलीले कुटनीतिक माध्यमबाट मुलुकको बिकासमा हात्तेमालोगर्न समेत आग्रह गर्नुभएको थियो ।
छलफलमा नेपाल भ्रमण वर्ष २०२०, नेपालको आर्थिक कुटनीति र नेपालमा विदेशी लगानी बढाउने बिषयमा केन्द्रित भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले जानकारी दिनुभयो ।
नेपालको राजदूत नियुक्ति नभएका मुलुकहरुका अवैतनिक राजदूतसंग नेपालको विदेश नीतिका सम्बन्धमा प्रधानमन्त्रीले प्रष्ट पारेको उहाले जानकारी दिनुभयो । अवैतनिक राजदूतहरुले भने आफूहरु नेपालबारे जानकार रहेको भन्दै सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको भट्टराईले बताउनुभयो ।
काठमाठौंमा सम्पन्न दुई दिने सम्मेलन पछि अवैतनिक राजदूतहरुले प्रधानमन्त्री ओलीसंग भेट गरेका हुन् । नेपालको १ सय ६६ मुलुकसंग कुटनीति सम्बन्ध भए पनि ३२ मुलुकमा मात्र राजदूत छन् । राजदूत नियुक्त नभएका मुलुकमा अवैतनिक राजदूतले काम गर्दै आएका छन् ।

























