काठमाडौं, कैलालीको टीकापुर घटनामा संलग्न भएको अभियोगमा जन्मकैद भोगिरहेका सांसद रेशम चौधरीको उपचारका क्रममा साङ्लो बाधिएको प्रति प्रधानमन्त्री केपी शर्मा ओलीले चासो व्यक्त गर्नुभएको छ । वीर अस्पतालमा उपचारको क्रममा चौधरीको खुट्टामा नेलकडी बाधिनु नराम्रो भएको भन्दै प्रधानमन्त्रीले तत्काल नेलकडी खोलेर उपचार गर्न निर्देशन दिनु भएको छ ।
प्रधानमन्त्रीको निर्देशन पछि चौधरीको नेलकडी खोलिएको छ । प्रधानमन्त्रीले साङ्लो बाध्नेलाई कार्वाही गर्न समेत निर्देशन दिनुभएको छ ।
डिल्ली बजार जेलमा जन्मकैदको सजाय भोगिरहेका सांसद चौधरीलाई बिरामी परेपछि वीर अस्पतालमा भर्ना गरिएको थियो । वीर अस्पतालको शैय्यामा उपचाररत चौधरीको खुट्टामा नेल बाँधेर राखिएको तस्बिर सार्वजनिक भएको थियो ।
जेल प्रशासनले उनलाई भाग्न नदिन खुट्टामा नेल बाँधेर राखेको बताएको थियो । नेल बाँधिएको फोटो सामाजिक सञ्जालमा भाइरल भएसँगै प्रधानमन्त्रीले यो विषयमा चासो दिनुभएको हो ।
लामो समयदेखि हाडजोर्नी सम्मबन्धी समस्या झेलिरहेका चौधरी १५ दिनदेखि वीर अस्पतालमा दैनिक थेरापी गरिरहेका थिए । तर पछिल्लो समय शरीर नै कुप्रो परेपछि उनलाई बिहीबार वीरको आकास्मिक कक्षमा भर्ना गरिएको थियो ।

























