काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले ऋषिमुनिले योगलाई जीवनपद्धति बनाएकाले जरिला भरिला बनेको बताएका छन् । पाँचौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शुक्रबार आयोजना गरेको योगाभ्यास तथा प्रवचन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपालीका पुर्खा ध्यानका सर्जक भएकाले नेपाललाई विश्व ध्यान केन्द्रका रुपमा स्थापना गर्नुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘अस्वस्थ चिन्तनबाट बच्न योग गरौँ, कर्म र योग दुवै गरौँ, ध्यानले असहिष्णुताबाट जोगाउँछ, ऋषिमुनिले योगलाई जीवनपद्धति बनाएकाले जरिला भरिला बने, आहार, विहार एवं व्यायामले जीवनलाई सन्तुलित बनाउने भएकाले यसको अभ्यास जरुरी छ ।’
वाल्मीकि, विश्वामित्र, वशिष्ठ, व्यासजस्ता ऋषिमुनिले नेपालभूमिमै साधना गरेकाले यो तपोभूमि, ज्ञानभूमि एवं शान्तिभूमिका रुपमा विश्वमा परिचित भएको उनले बताए । केही स्थानमा त्रेतायुगका योगस्थ अवस्थाका मुद्रा भेटिएकाले योगको प्राचीनतालाई प्रमाणित गरेको प्रधानमन्त्री ओलीको भनाइ थियो ।
नेपाल सरकारले २०७२ साउन २८ गते माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो । नेपालमा विसं २०३६ माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो । नेपाल संस्कृत विश्वविद्यालयमा छ महीनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ ।
























