कञ्चनपुर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावलले पार्टी एकीकरणसँगै देशमा समृद्धिको ढोका खुलेको बताउनुभएको छ । शनिबार पार्टीका जिल्ला कमिटी सदस्यलाई शपथग्रहण गराउने कार्यक्रममा बोल्दै उहाँले पार्टी र सरकारले समन्वय गरेर अगाडि बढेमात्रै आर्थिक समृद्धिका कार्यलाई संस्थागत रूपमा अगाडि बढाउन सकिने विचार व्यक्त गर्नुभयो ।
उहाँले पार्टी कार्यकर्ताले आ–आफ्नो कर्तव्य र दायित्व बिर्सन नहुने भन्दै जनतालाई समृद्ध बनाउनका लागि पार्टी कार्यकर्ताले हातेमालो गरेर अघि बढ्नुपर्ने बताउनुभयो । तत्कालीन नेकपा (एमाले) का तर्फबाट जिल्ला कमिटी सदस्यमा चयन भएका ८० र तत्कालीन नेकपा माओवादी केन्द्रका तर्फबाट जिल्ला कमिटीमा चयन भएका ७५ गरी १५५ लाई पार्टी नेता रावलले शपथग्रहण गराउनुभएको थियो । रासस