काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय योजना आयोगको परिसरमा एभोकार्डोको विरुवा रोप्नु भएको छ । विश्व वातावरण दिवशको अवसरमा प्रधानमन्त्री ओली सहित मन्त्रीहरुले बुधबार योजना आयोग परिसरमा फलफूलका विरुवा रोप्नु भएको हो ।
सरकारले एक नेपाली एक फलफूलका विरुवा कार्यक्रम गतबर्ष देखि सुरु गरेको थियो । यही कार्यक्रमको निरन्तरता स्वरुप प्रधानमन्त्री ओलीले एभोकाडोको विरुवा रोप्नु भएको हो ।
सिंहदरबारस्थित राष्ट्रिय योजना आयोग कार्यालय परिसरमा एभोकाडोको विरुवा रोपेर प्रधानमन्त्री ओलीले ‘एक नेपाली एक फलफूलका विरुवा रोपण अभियान’को निरतरता कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको हो ।
उहाँले एभोकाडोको विरुवा रोपेर सिर्चन पनि गर्नुभयो । ‘एक नेपाली एक फलफूलका विरुवा रोपण अभियानको निरन्तरता कार्यक्रम’को उद्घाटन समारोहमा गृहमन्त्री रामबहादुर थापा, खानेपानी मन्त्री विना मगर, उद्योगमन्त्री मात्रृका यादव लगायतको उपस्थिति थियो ।
सरकारले आगामी वर्षलाई वृक्षारोपण वर्षको रुपमा मनाउने घोषणा गरेको छ । त्यसैगरी कृषि वनको विस्तार गर्न सरकारी नर्सरीमा न्यूनतम ३० प्रतिशत फलफूलको उत्पादन गर्ने, सदुपयोगको सिद्धान्त बमोजिम खाली र बाँझो जमिनमा फलफूलका विरुवा रोप्ने नीति कार्यान्वयन गर्ने सिलसिलामा बुधबार फलफूलका विरुवा रोपनलाई निरन्तरता दिने कार्यक्रमको शुभारम्भ गरिएको हो ।