काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले केन्द्रीय सदस्यको कार्यविभाजन आज टुङ्गो लगाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सचिवालय बैठकले आज कार्यविभाजन टुङ्ग्याउने गरी छलफल शुरु गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “कार्यविभाजनको कार्यसूचीमा छलफल शुरु भएको छ । छलफल सहमति नजिक पुगेको छ । आज केन्द्रीय सदस्यको कार्यविभाजन टुङ्ग्याएर विदेशस्थित प्रवास कमिटीलगायत साङ्गठनिक एकताका बाँकी कामको छलफलमा लाग्नेछौँ ।”
एकतापछि नेकपामा ४४१ केन्द्रीय सदस्य छन् । नेकपाको सचिवालय बैठक यही जेठ २ गतेपछि यता बस्न सकेको थिएन । यही जेठ ३ गते पार्टी एकीकरण भएको एक वर्ष पुगेको अवसरमा १९ वटा जनवर्गीय सङ्गठनको नाम, संयोजक र सहसंयोजक तोकेको थियो ।