काठमाडौ,– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले संसदमा पेस गरेको कुनै पनि विधेयक फिर्ता नगर्ने बताउनुभएको छ ।
संसदमा पेस गरिएका सबै विधेयक संसदीय प्रक्रियाबाट पारित हुने र त्यसमा आवश्यक परिमार्जन भने गर्न आफ्नो पार्टी तयार रहेको पनि स्पष्ट पार्नुभयो ।
कृष्णसेन स्मृति दिवसको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले कुनै पनि विधेयकको छलफल गर्ने थलो संसद भएको र त्यहीँ विस्तृत छलफल भएपछि पारित हुने पनि स्मरण गराउनुभयो । सोही अवसरमा संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले संसदमा पेश गरिएका सबै विधेयक संविधान र अन्तराष्ट्रिय मान्यताविपरीत हुने गरी नल्याएको दाबी गर्नुभयो । उहाँले संचार क्षेत्रको समृद्धि हुने गरी आएको मिडिया काउन्सिलसम्बन्धी विधेयकलाई विरोध गर्नेहरु एनजीओ र आईएनजीओबाट परिचालित भएको आरोप पनि लगाउनुभयो ।